काँग्रेसका भातृ संगठनलाई ६ महिने म्याद थपियो

काँग्रेसका भातृ संगठनलाई ६ महिने म्याद थपियो

महाधिवेशन हुन नसकेर म्याद सकिएका पार्टीका भातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय नेपाली काँग्रेसले गरेको छ। आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल लगायतका म्याद सकिएका संगठनलाई ६ महिना निरन्तरताका लागि निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

समयमा नै अधिवेशन हुन नसक्दा पार्टीका भातृ संगठनहरुमा चरम विवाद रहँदै आएको छ। आज केन्द्रीय समितिको बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका सभापति शेरबहादुर देउवाविरुद्ध नाराजावी भएको थियो। अधिवेशन गराउन नसकेको चर्को आरोप खेप्दै आएका छन् देउवाले। पार्टीका भातृ संगठनको विषयलाई लिएर बढ्दो असन्तुष्टिका बीच आज म्याद थप्ने निर्णय भएको हो। यसै विषयलाई लिएर काँग्रेसको आज १ बजे डाकिएको बैठक ४ बजेमात्र सुरु भएको थियो। नेताहरुबिच ६ महिना थप गर्ने विषयमा सहमति जुटेपछि मात्र बैठक बसेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली काँग्रेस त्यसको विरोधमा बलियोसँग उत्रिन नसकेको आरोप लागिरहेको अवस्थामा आज बैठक डाकिएको थियो। बैठकले आन्दोलनका कार्यक्रम भन्दै देशव्यापी प्रदर्शनबाहेक आन्दोलनका अन्य निर्णय भने गरेन। पार्टी सभापति देउवालाई प्रधानमन्त्री ओलीसँग मिलेमतो गरेको आरोप लाग्दै आएको छ। देउवाले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगिसकेकाले त्यहाँबाट आउने फैसला आफूलाई मान्य हुने जनाउँदै आएका छन्। काँग्रेसमा ओलीको कदमविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने माग राख्ने समूह पनि बलियो छ।