प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको थप आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको थप आन्दोलन घोषणा

नेपाली कांग्रेसले प्रतिनिधसिभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा गरेको छ । निर्वाचन क्षेत्र र स्थानीय तहकेन्द्रित विरोध प्रर्दशन गरिरसकेको कांग्रेसले अब आउँदो १९, २४ र ३० गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय आज गरेको हो । 

आज बसेको केन्द्रीय समिति बैठकले १९ गते भातृसंस्थाहरुले, २४ गते शुभेच्छुक संस्थाहरुले र ३० गते जिल्ला कार्यसमितिहरुले सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरको प्रदर्शन संयुक्त रुपमा गर्ने पनि निर्णय भएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र आफूहरु सुरुदेखि नै विरोधमा रहेको बताउँदै थप विरोध कार्यक्रम घोषणा गरेको बताए । जारी बैठकमा कांग्रेसको महाधिवेशनदेखि प्रदेशसहितको अन्य एजेन्डाबारे छलफल जारी रहेको प्रवक्ता शर्माले बताए ।

केन्द्रीय समिति बैठकले अधिवेशन हुन नसकेर कार्यसमितिको म्याद समाप्त भएका भातृसंगठनको म्याद ६ महिनाका लागि थप्ने निर्णय पनि गरेको छ । साथै बैठकले सोमबार नागरिक समाजले गरेको आन्दोलनमा सरकारका तर्फबाट भएको दमनको भर्त्सना गरेको छ।