जुम्लाको गोठी गाउँमा भीषण आगलागी,३० घर जले

जुम्लाको गोठी गाउँमा भीषण आगलागी,३० घर जले

जुम्लाको तिला गाउँपालिका वडा नं. ७ को गोठी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । मङ्गलवार साँझ ५ बजेतिर भएको आगलागीमा ३० घर जलेर नष्ट भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक नविन थापा मगरले बताउनु भयो ।

सदरमुकामबाट करिब ४२ किलोमिटर टाढा रहेको गोठी गाउँमा ५५ घरहरू थिए । उहाँका अनुसार घर सँगै पशु चौपाया,लत्ता कपडा,अन्नपात भाँडाकुँडा सबै जलेका छन् ।

आगलागीको कारण र क्षतीको वास्तविक विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक थापा मगरले भन्नुभयो,‘सबै घरहरू सल्लाहको काठले निर्माण भएका रहेछन्  । बाक्लो बस्ती भएकाले आगो नियन्त्रण लिने उपाय छैन । अहिले पनि बस्तीमा आगो बाँकी नै छ । तर अन्य बाँकी २५ घरलाई जोगाउन भने स्थानीयवासी र सुरक्षा निकाय तल्लीन  छौ ।’

 आगो नियन्त्रण लिने कुनै उपाय नभएका कारण आँखा अगाडी आधा गाउँ खरानी भएको स्थानीय परिमल रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,“न त गाउँमा पानी छ । नत जिल्लाबाट दमकल नै आउन सक्छ, समयमै सुरक्षा निकाय पुग्ने स्थिति पनि थिएन । सडक पुगेपनि तिला नदीमा पुल नहुँदा ठुलो क्षती व्यहोर्नु पर्‍यो ।” उहाँले भन्नुभयो, ‘सबैका घर र अन्नपात जलेपछि के खाने ? कहाँ बस्ने ? थाहा छैन,हाम्रो त बिचल्ली भयो ।’

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगलागी पीडितको राहत  र उद्दारका लागि प्रदेश सरकार र जिल्ला विपद् कोषसँग आवश्यक पहल गरिने बताउनुभयो । ‘क्षतीको विवरण आएको छैन । प्रहरीले मुचुल्का उठाएपछि राहत उद्दारमा जुट्छौँ’ उहाँको भनाई छ ।

प्रहरीलाई ढिला खबर आइपुगेकाले क्षती कम गर्न नसकिएको डिएसपी माधव प्रसाद काफ्ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खबर आउनासाथ ३ घण्टाको उकालो हिडेर राती नै प्रहरी टोली पठायौँ, प्रहरी र स्थानीयले  ५/६ घण्टामा आगो सामान्य बनाए पनि अझै आगलागी जारी नै छ ।’

मङ्गलवार राती १८ जना नेपाल प्रहरी र ९ जना सशस्त्रको टोली गोठीतर्फ गएको थियो ।