निसर्ग हस्पिटलले सुदूरपश्चिम स्पोर्टस अवार्डलाई दियो साथ

निसर्ग हस्पिटलले सुदूरपश्चिम स्पोर्टस अवार्डलाई दियो साथ

धनगढी । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको दोस्रो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो ।

स्पोर्टस अवार्डमा दिईने ९ वटा विधा मध्येको बर्षको उत्कृष्ट युवा खेलाडी अवार्डको विधालाई निसर्गले प्रायोजन गरेको हो । अब यो विधाको नाम निसर्ग हस्पिटल युवा बर्ष खेलाडी रहने छ । खेलकुदमा कम उमेरमै बर्ष २०७६ सालमा उत्कृष्ट प्रदर्शन गरेका १९ बर्ष मुनिका खेलाडीलाई दिईने यो विधाका विजेतालाई  नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । अघिल्लो बर्ष पनि निसर्गले विधा प्रायोजन गरेर साथ दिएको थियो । 

विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तिर्थ पन्त र प्रवन्ध निर्देशक कुवेर शाही तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरे । अवार्डमा सहकार्य गर्न पाउँदा खुशी लागेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तिर्थ पन्तले बताए । उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बर्ष युवा खेलाडी विधा अवार्डका विजेतालाई अस्पतालमा उपलब्ध रहेको स्वास्थ्य उपचारको निशुल्क गर्ने हस्पिटलका प्रवन्ध निर्देशक शाहीले बताए । शाही आफु पनि लामो समयदेखि खेलकुदको विकासमा सक्रिय हुँदै आएका छन् । उनी धनगढी प्रिमियर लिग सुरु हुनुअघि धनगढीमा भएको धनगढी क्रिकेट लिगमा सहभागी भएको रोयल हसनपुर टीमका मालिक समेत थिए ।

निसर्ग हस्पिटलको साथले अवार्डलाई अझ भव्यताका साथ सम्पन्न गर्नलाई सहयोग गरेको मञ्चका सल्लाहकार उपाध्यायले बताए । धनगढी उपमहानगरपालिका–५, हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

 
अस्पतालले बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, जनरल मेडिशिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको छ । 

आगामी चैत ६ गते धनगढीमा हुने सुदूरपश्चिम स्पोर्टस अवार्ड विभिन्न ९ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।

त्यसैगरी पिपुल च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधामा पनि अवार्ड वितरण गरिनेछ । ७ वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।

अवार्ड अन्तर्गतको सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसिन डिष्ट्रिव्युटर्सले प्रायोजन गरिसकेको छ । सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई  धनगढी उप महानगरपालिकाले प्रबद्र्धकको रुपमा सहयोग गर्ने सम्झौता भईसकेको छ । अन्य प्रायोजक र विधा प्रायोजकहरुको खोजी भईरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 


नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो ।

पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् ।


उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ ।