बझाङमा युवक हत्या प्रकरण : वडाध्यक्ष सहित ४ जना पक्राउ

बझाङमा युवक हत्या प्रकरण : वडाध्यक्ष सहित ४ जना पक्राउ

बझाङ । बझाङको छविसपाथीभेरा गाँउपालिकामा भएको हत्या प्रकरणमा वडा नं २ का अध्यक्ष विकास ऐडी सहित ४ जना पक्राउ परेका छन । गाँउपालिकाको वडा नं ३ मा रहेको बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ विवाद भएपछि सोही ठाँउका लखन भनिने अमृत सिंहको खुँडा प्रहार गरी हत्या भएको थियो ।

घटनामा संलग्न ज्ञानबहादुर कडायत, प्रकाश ऐडी र केदार ऐडीलाई प्रहरीले पक्राऊ गरेको हो । फरार भएका प्रकाश ऐडी गाँउपालिकाको रोजगार संयोजक हुन । प्रकाश ऐडी र केदार ऐडीलाई थलारा गाँउपालिका बाट पक्राउ गरेको बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खडकाले बताए ।

बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि असन्तुष्ट भएका नेकपाका कार्यकर्ताले स्थानिय बजारमै सिंहमाथि खुँडा प्रहार गरेरका थिए । विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपाका को तर्फ बाट छविसपाथीभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीका छोरा गजेन्द्र धामी र कांग्रेसको तर्फ बाट लोकेन्द्र बोहरा उम्मेदवार रहेका थिए ।

मंगलबार विद्यालय व्यवस्थापन समितिको चुनाव सम्पन्न भएको थियो । मतको परिणाम काँग्रेसको तर्फ बाटका उम्मेदवार लोकेन्द्र बोहोराको पक्षमा आएपछि आक्रोसित बनेका नेकपाका कार्यकर्ताले आफ्ना उम्मेदवार पराजित भएपछि विजयी उम्मेदवारका समर्थक सिंहको हत्या गरेका हुन । हत्या गरिएका सिंह नेपाली काँग्रेसको भातृ संगठन तरुण दल छविसपाथीभेराका सदस्य हुन ।

सत्ताको मातमा विपक्ष दलका कार्यकर्ताको हत्या गर्नु निन्दनिय रहेको कांग्रेसले जनाएको छ । नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ता माथि पटक पटक आक्रमण गर्दै आएको र घटनामा संलग्नलाई राजनैतिक आडमा मुक्त नगरी कानुनी दायरामा ल्याउनु पर्ने कांग्रेसका पार्टी सचिब भरत खड्काको भनाई छ ।