दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाका लागि सम्झौता

दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाका लागि सम्झौता

तराईका दुई जिल्लामा दुई सय ५० मेगावाटको सौर्य ऊर्जा परियोजना सञ्‍चालनका लागि सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता भएको छ।लगानी बोर्ड र सिंगापुरको राइजेन इनर्जी सिंगापुर जेभीबीच मंगलबार यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा १२५/१२५ मेगावाट गरी कूल दुई सय ५० मेगावाटको सौर्य ऊर्जा परियोजना सञ्‍चालनका लागि सम्भाव्यता अध्ययन गरिनेछ।यस्तै, ती दुई स्थानमा २० मेगावाटका दरले कूल ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाको अध्ययनसमेत गरिनेछ।

उक्त परियोजनाको कूल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर छ। लगानी बोर्ड कार्यालयमा सम्पन्न सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ क्‍विङले हस्ताक्षर गरे।सम्झौताअनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र प्रतिवेदन तयार गरेर बोर्डमा बुझाउनुपर्ने छ।