बराललाई हृदयचन्द्र सम्मान, भट्टराईलाई रिमाल पुरस्कार

बराललाई हृदयचन्द्र सम्मान, भट्टराईलाई रिमाल पुरस्कार

यस वर्षको हृदयचन्द्र स्मृति सम्मान वरिष्ठ समालोचक डा. ऋषिराज बराललाई प्रदान गरिएको छ । उनलाई हृदयचन्द्र स्मृति सम्मान स्वरूप ताम्रपत्र र २५ हजार रुपैयाँबाट सम्मानित गरियो ।यस्तै, यो वर्षको गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । उनलाई रिमाल पुरस्कार स्वरूप ताम्रपत्र र २० हजार रुपैयाँ प्रदान गरियो ।

शनिबार काठमाडौंमा साहित्य सदनले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान एवं प्रदान गरेका हुन् ।सम्मानित एवं पुरस्कृत स्रष्टाहरू बराल र भट्टराईले सो पुरस्कारले आफूहरूमा अझ ऊर्जा बढेको बताए । आफ्ना प्रिय स्रष्टाको नाममा स्थापित सम्मान एवं पुरस्कार पाउँदा निकै खुसी लागेको पनि उनले बताए ।

कार्यक्रममा आख्यानकार नारायण ढकालले पुरस्कृत स्रष्टाद्वयको साहित्यिक योगदानका बारे समीक्षा गरेका थिए । सोही अवसरमा अतिथिगणबाट साहित्यकार वसन्त रिजालको पहिलो कविता संग्रह ‘ब्युँझिएपछि’को विमोचन गरियो ।

कार्यक्रममा साहित्य सदनका उपाध्यक्ष प्राडा हेमनाथ पौडेलले दिवंगत स्रष्टा रिमाल र हृदयचन्द्रसिंह प्रधानको साहित्यिक योगदानबारे प्रकाश पारे । यस्तै, साहित्यकार डा. विदुर चालिसेले विमोचित कृतिको समीक्षा गर्दै रिजालका कविता प्रगतिशील चेतले भरिपूर्ण रहेको टिप्पणी गरे ।

साहित्यकारहरू सीता शर्मा, मित्रलाल पंज्ञानीलगायतले पनि नेपाली साहित्यमा हृदयचन्द्रसिंह प्रधान र गोपालप्रसाद रिमालको साहित्यिक प्रसंगको चर्चा गरे । कार्यक्रममा स्रष्टाहरूले प्रधान र रिमालको स्मरणमा विभिन्न कविता वाचन गरे ।