लिटरेचर फेस्टिभल यसपाली भर्चुअल

लिटरेचर फेस्टिभल यसपाली भर्चुअल

आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण यही पुस १४ र १५ मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ ।

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहने छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।

कोभिड कहरका कारण लामो समयसम्म आफूहरू फेस्टिभलको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए । ‘भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा हामी जुटेका हौं ।’ उनले भने ।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए । भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ । ‘भौतिक रुपमा दर्शक एवम् श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको थियो,’ उनले भने, ‘तर कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन ।’

यसैगरी सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । ‘पोखरा माछापुच्छ«ेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’