पशुपतिमा सुनको जलहरी बनाउन तत्कालै ३० करोड रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

पशुपतिमा सुनको जलहरी बनाउन तत्कालै ३० करोड रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्ग अवस्थित पीठिकामा सुनको जलहरी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै ३० करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सोमबार पशुपति दर्शन गर्न पुगेका प्रधानमन्त्री ओलीले आफूसँगै रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई सुनको जलहरी बनाउनका लागि ३० करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएका पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले जानकारी दिए ।

‘प्रधानमन्त्री ज्यूले विधिपूर्वक पूजा र दर्शन सक्नुभएपछि सुनको जलहरी स्थापना गर्ने भन्ने विषयमा सदस्यसचिव ज्यू (पशुपति क्षेत्र विकास कोषसका सदस्य सचिव प्रदीप ढकाल)सँग जिज्ञासा राख्नुभएको थियो । सदस्य सचिव ज्यूले करिब ३० करोड रुपैयाँ अपुग भएको जानकारी गराउनुभएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा कोषका ती अधिकारी भन्छन्, ‘प्रधानमन्त्रीज्यूले संस्कृतिमन्त्री ज्यु समेतलाई तत्कालै ३० करोड रुपैयाँ उपलब्ध गराउने भनेर लिखित निर्देशन दिनुभयो ।’

प्रधानमन्त्री ओलीले यस वर्षको महाशिवरात्री अगाडि नै जडान गरिसक्ने गरी जलहरी निर्माणका लागि अपुग ३० करोड रुपैयाँ उपलब्ध गराउन भनेका हुन् ।

प्रधानमन्त्रीले लिखित निर्देशन दिएपछि कोषले ३० करोड रुपैयाँ प्राप्तीका बारेमा बैठकबाट निर्णय गराएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाउने तयारी गरेको छ । कोषको निर्णयबारे पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा जानकारी गराएपछि मन्त्रिपरिषद बैठकबाट सुनको जलहरी निर्माणका लागि ३० करोड रुपैयाँ निकासा गर्ने निर्णय हुनसक्ने कोषका ती कर्मचारी बताउँछन् ।

हाल मुख्य शिललिङ्ग अवस्थित पीठिकामा चाँदीको जलहरी छ । चाँदीको जलहरी जीर्ण बन्दै गएपछि पशुपति क्षेत्र विकास कोषले गत वर्ष नै सुनको जलहरी निर्माण गर्ने निर्णय गरेको थियो ।कोषले जलहरी निर्माणकालागि अनुमानित १ सय ४२ किलो सुन चाहिने पनि जनाएको थियो । कोषले सर्वसाधारण भक्तजन तथा दाताहरुलाई जलहरी निर्माणका लागि सुन र नगद समेत सहयोग गर्न आह्वान गरेको थियो ।

गत वर्षकै अनुमानअनुसार करिब जलहरी निर्माणमा १ अर्ब रुपैयाँ (कामदार र कालीगढको ज्यालाबाहेक) खर्च लाग्ने अनुमान गरिएको थियो ।