बामदेवको चलाखीपूर्ण अवधारणा

बामदेवको चलाखीपूर्ण अवधारणा

सत्ता कलहका कारण फुटेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुइ समूहलाई रणनीतिक रुपमा मिलाएर लैजान उपाध्यक्ष बामदेव गौतम अघि सरेका छन् । यतिञ्जेल कुनै पनि समूहमा नगएका गौतमले सर्बोच्च अदालतमा बिचाराधीन प्रतिनिधिसभा बिघटनको मुद्दाको फैसला जस्तोसुकै आएपनि त्यही अनुसार कार्यगत एकता गर्नेगरी अवधारणा अगाडि सारेका छन् । उनको अवधारणा अनुसार परिस्थिति अनुसार नेकपाका दुइ समूहलाई मिलाएर सत्तामाथिको पकड कायमै राख्ने रणनीति देखिन्छ । गौतमको यो चलाखीपूर्ण रणनीतिले नेकपालाई जसरी पनि सत्तासाझेदारीमै अल्झाईरहने उदेश्य देखिन्छ ।

उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान थालेका छन् । उनले एकताको अवधारणा नै सार्वजनिक गरेका छन् । गौतमले वुधबार पत्रकार सम्मेलन गरेर पार्टी पुनःएकीकरणको योजना पेश गरेका हुन् । उनले पुनःएकीकरणको योजना दुई चरणको हुने बताएका छन् ।

गौतमका अनुसार, पहिलो चरण सर्वोच्च अदालतको फैसला नआउँदासम्मको र दोस्रो चरण, सर्वोच्च अदालतको फैसला आएपछिको कार्यक्रमको तयारी छ । यी दुबै चरणमा एकीकरणका विभिन्न विकल्पहरुमा छलफल गरिने गौतमको भनाई छ ।

यो बीचमा सरकार संचालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार संचालन गर्ने प्रक्रिया अवलम्बन गरिने समेत उपाध्यक्ष गौतमले बताए । प्रतिनिधिसभा पुनःस्थापना भएमा वा निर्वाचन भएमा दुबै अवस्थामा भिन्न–भिन्न केन्द्र अन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार संचालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार संचालन गर्ने प्रक्रिया अवलम्बन गरिने गौतमको योजना छ ।  

यसलाई व्यवस्थित गर्न बराबर संख्याका समन्वय समितिहरु विभिन्न तहमा निर्माण गरिने, प्रतिनिधिसभा पुनःस्थापना पछि पनि पार्टी एकीकरण हुन नसकेमा पार्टी एकता अभियान निर्वाचन काल र त्यसपछि पनि निरन्तर जारी रहने उनले बताए । फरक–फरक नाममा विधिवत् आ–आफ्ना पार्टी सञ्चालन गरिएको अवस्थामा पनि मित्रतापूर्ण सम्बन्ध कायम राख्दै पार्टी एकीकरणका निम्ति अथक प्रयत्न गरिने गौतमले बताए ।