निजी क्षेत्र कार्यगत एकताका लागि तयार

निजी क्षेत्र कार्यगत एकताका लागि तयार

काठमाडौं । निजी क्षेत्रका छाता संगठनहरूले आर्थिक मुद्दामा एकताका साथ अघि बढ्न आफूहरू तयार रहेको बताएका छन् । बुबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तक्र्रियामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सो धारणा राखेका हुन् ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो–‘हामी उद्देश्य प्राप्तिका लागि एक ठाउँमा उभिनुपर्छ, ९० प्रतिशत विषयवस्तुमा कार्यगत एकता गर्न सक्छांै,’ उहाँले कार्यगत एकताका लागि महासंघले परिसंघ र चेम्बरलाई प्रस्तावको मस्यौदा पठाइसकेको जानकारी दिनुभयो ।

नेपाल चम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको कार्यगत एकताको लागि आफूहरु तयार रहेको धारणा रँख्दै निजी क्षेत्र एक भएर अगाडि बढेको खण्डमा नीतिगतदेखि हरेक क्षेत्रमा आफूहरुले दबाब दिन सक्ने बताउनुभयो । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले ७० प्रतिशतभन्दा बढी राजस्वको हिस्सा निजी क्षेत्रको भएको र सेवा तथा रोजगरी सिर्जनामा निजी क्षेत्रको अग्रणी भूमिका भए पनि निजी क्षेत्रप्रति सरकारले गर्नुपर्ने सहयोग नगरेको गुनासो गर्नुभयो ।

त्यस्तै साउथ एसियन वाच अन ट्रेड एन्ड इकोनमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती) का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले संविधानमा तीन खम्बे अर्थनीति, कोभिडपछिको पुनरुउत्थान, मौद्रिक नीति, आर्थिक क्षेत्रको सुधारलगायतका विषयमा आगामी दिनमा निजी क्षेत्र एकताबद्ध भई अघि बढ्न सक्ने धारणा राख्नुभयो ।