ओली र दाहालको फोटो राख्‍दै सूर्य थापाले भने: फरक यत्ति हो !

ओली र दाहालको फोटो राख्‍दै सूर्य थापाले भने: फरक यत्ति हो !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको भैंसी पूजाबारे कटाक्ष गरेका छन्।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गरेको फोटो र प्रचण्डले भैंसी पूजा गरेको फोटो सार्वजनिक गर्दै थापाले दुई पूजाको तुलनासमेत गरेका छन्।

दुई फोटोको क्याप्सनसहित थापाले भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने बताएका हुन्।

प्रधानमन्त्रीले पशुपतिनाथ पुगेर गरिएको पूजाबारे प्रशंसा गर्दा उनले प्रचण्डको भैंसी पूजालाई भने अस्वभाविक भनेका छन्। प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरेको फोटोबारे उनले भनेका छन्, 'प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको  निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो। सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट  ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो।

पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ।

दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ।'

दोस्रो फोटोबारे थापाले लेखेका छन्, 'पुष्पकमल दाहाल"प्रचण्ड"ले आफ्नो शक्ति वृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो! भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन। बुझ्ने आआफ्नै स्तर हुन्छ। फरकचाहिं यत्ति हो!'