घान्द्रुकमा सिनेमा, साहित्य र पर्यटन विषयमा बहस

घान्द्रुकमा सिनेमा, साहित्य र पर्यटन विषयमा बहस

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त क्षेत्रको दृश्य समेटिनुसँगै त्यहाँको पर्यटन प्रवर्वद्धनमा सहयोग पुर्‍याएको छ । त्यस्तै ठाउँमध्ये कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ पनि सिनेमा छायांकनको लागि सम्भावनायुक्त रहेको ठाउँ हो ।

सुन्दर घान्द्रुकमुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । गाउँमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ बारे छलफल चल्यो । छलफलको पहिलो सेसन ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ मा वक्ताको रुपमा नेपाली चलचित्रका निर्देशक/नायक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरे । 

पर्यटन सम्बद्ध संस्थाहरुको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो कि ? भन्ने प्रशनमा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘माया त गरेकै छौं तर समन्वय नभएको चाहिँ हो । विगतमा भएको कमजोरीभन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो ।’

दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ मा यस्तै विषयमा छलफल चल्यो । सेसनमा वक्ताहरुमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ र सहजकर्ता दिनेश डीसी थिए । लेखक गनेस पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको बताए ।