यो वर्ष कहिलेसम्म रहन्छ जाडो ?

यो वर्ष कहिलेसम्म रहन्छ जाडो ?

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो । 

दिउँसो मौसम सफा रहने काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ । विहान मसिनो कुहिरो लागेको काठमाडौंमा भिजिविलिटी २ किलोमिटर रहेको छ । भिजिविलिटी साढे २ किलोमिटरमा झरे पछि हवाई यातायात सेवाका लागि विमान उडान तथा अवतरणमा अवरोध सिर्जना हुने मौसमविद् मीनकुमार आर्याल बताउँछन् । 

तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको छ । यसले स्थल तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने भन्दै आवश्यक सर्तकता अपनाउनु पर्ने आर्यालको भनाइ छ । न्यून भिजिविलिटीका कारण अगाडिको बाटो र सवारी साधन नजिकै आउँदासमेत नदेखिने हुनाले दुर्घटना बढ्ने भएकाले ध्यान दिनुपर्नेमा उनको जोड छ । 

१२ देखि २ बजेसम्म विस्तारै तुवाँलो हटेर जाने उद्यपि केही ठाउँमा साँझसम्मै रहने मौसमविद् अर्यालको भनाइ छ ।

आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानमा मौसम सफा रहनेछ । प्रदेश १, गाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कहिलेसम्म रहन्छ जाडो ?
माघ १६ गते लागिसक्दा पनि यो वर्ष जाडो बढ्ने क्रम रोकिएको छैन । सामान्यतया माघको दोस्रो हप्तामा प्रवेश गर्दा पानी परिसकेर जाडो पनि कम हुने गरेको थियो । तर, यो वर्ष आजसम्म पानी परेको छैन र जाडो पनि कम भएको छैन । 

पश्चिमी वायुको प्रभाव कम भएका कारण यो वर्ष अहिलेसम्म जाडो नहटेको मौसमविद् अर्याल बताउँछन् । “पश्चिमी वायुको प्रभावले हिउँदमा जति पानि पर्नुपर्ने थियो, परेन । पानी नपरेका कारण राजस्थान तथा पश्चिमबाट आउने वायुमा चिसोको मात्रा बढेर आइरहेको छ । त्यसैले चिसो बढिरहेको छ,” अर्याल भन्छन्, “पानी परेको भए पश्चिमी वायुमा चिसोको मात्रा कम हुन्थ्यो । र, वायुमण्डल पनि सफा भएर सूर्यको किरण पृथ्वीमा राम्रोसँग आउन पाउँथ्यो ।” 

पानी परेर वायुमण्डल सफा हुन वित्तिकै जमिन तात्न थाल्ने उनको भनाइ छ । अब पानी परेपछि दुईचारदिन चिसो हुने र त्यसपछि तापक्रम बढेर तातो हुन सुरु हुने आर्याल बताउँछन् । 

यद्यपि तत्काल केहीदिन भित्रै पानी पर्ने सम्भावना देखिएको छैन । पूर्वी, पश्चिमी र मध्ये क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । पहाडी भू–भागमा सामान्य बदली देखिएको तर यो बदली पानी पार्ने तहको नभएको अर्याल बताउँछन् । पानी पार्ने तहको मौसमी प्रणाली नेपाल नभित्रिएको उनी बताउँछन् । अहिले पहाडी तथा हिमाली भू–भागतिर देखिएको बादल नेपालको भूगोलकै कारण देखिएको आर्यालको भनाइ छ ।