प्रधानमन्त्रीलाई स्वागत नगरेका सुदूरपश्चिमका मुख्यमन्त्री प्रचण्ड समूहलाई लिन एयरपोर्ट पुगे

धनगढी खबर    

प्रधानमन्त्रीलाई स्वागत नगरेका सुदूरपश्चिमका मुख्यमन्त्री प्रचण्ड समूहलाई लिन एयरपोर्ट पुगे

गत पुस २४ गते प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगे। उनको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मन्त्री तथा नेकपा नेता कार्यकर्ता धनगढी विमानस्थल नै पुगे। तर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने देखिएनन्। नेकपाको भेलालाई सम्बोधन गर्न नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली धनगढी पुगेका थिए। 

मुख्यमन्त्री भट्टले ओली प्रधानमन्त्रीको हैसियता नभएर गुटको नेताको हैसियतमा आएकाले स्वागतका लागि नगएको बताएका थिए। प्रधानमन्त्रीको स्वागतमा नगएका मुख्यमन्त्री भट्ट आज भने नेकपाको प्रचण्ड समूहले आयोजना गरेको आमसभामा भने सहभागी छन्। 

उनी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई स्वागत गर्न विमानस्थलमै पुगेका छन्। यति मात्र नभएर उनी उक्त समूहले आयोजना गरेको आमसभाको ड्यासमा समेत अतिथिको रूपमा बसेका छन्।मुख्यमन्त्री भट्ट लगातार दुई दिन दुई नेताका स्वागतका लागि विमानस्थल पुगेका हुन्। शुक्रबार धनगढी पुगेका नेता नेपाल र शनिबार पुगेका प्रचण्डको स्वागतका लागि उनी सरकारी झण्डावाल गाडीसहित विमानस्थल पुगेका हुन्। 

मुख्यमन्त्री भट्टको उक्त कदमको आलोचनासमेत भएको छ। यस विषयमा मुख्यमन्त्री भट्टले केही प्रतिक्रिया दिएका छैनन्। उनीसँग टेलिफोनमा कुरा गर्न खोज्दा अहिले आफू कार्यक्रममा रहेको र कुनै पनि प्रक्रिया नदिने जनाउँदै टेलिफोन काटिदिए। मुख्यमन्त्री भट्टको उक्त कदमप्रति नेकपाको एक समूह रुष्ट बनेको छ। उनीहरूले शिष्टाचारको सवाल उठान गर्दै भनेका छन्, “गुटको भेलाका लागि प्रचण्ड नेपाललाई स्वागत गर्ने तर प्रधानमन्त्री नै प्रदेशमा आएको बेला गुटको नेता भन्दै टार्न खोज्नेरु उनी मुख्यमन्त्री नभई प्रचण्डका कार्यकर्तामा भए।”

स्वागतका लागि प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह पनि विमानस्थल पुगेका थिए। उनले पार्टीको नेता तथा कार्यकर्ताको हैसियतले आफुहरू अध्यक्षहरूको स्वागत गर्न विमानस्थल पुगेको प्रतिक्रिया दिए।    

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गराएपछि उनी आबद्ध नेकपा दुई खेमामा विभाजित छ। मुख्यमन्त्री भट्ट प्रचण्ड खेमामा छन्। त्यसैले उनी प्रधानमन्त्रीलाई स्वागत गर्न गएनन्। 

प्रधानमन्त्रीका लागि भने प्रदेश सरकारले सवारीको व्यवस्था मिलाएको थियो, तर गुटको नेताको हैसियतले आएका नेताको कार्यक्रममा नजाने बताएका मुख्यमन्त्री भट्ट आज पनि नेकपाकै एक समूहको गुटको नेताको स्वागत मात्र गरेनन्, उनी आज आयोजित कार्यक्रमको ड्यासमा नै आसीन छन्।



शनिबार १७, माघ २०७७ ०३:४२ मा प्रकाशित

#प्रधानमन्त्री केपी शर्मा ओली

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस