तीन वर्षमा निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार : निर्यात व्यवसायी महासंघ

तीन वर्षमा निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार : निर्यात व्यवसायी महासंघ

निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको बताएको छ ।शनिबार काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनीतिक योजना तयार पारेको बताएको हो ।

महासंघका अध्यक्ष रामबहादुर गुरुङले महासंघसँग आबद्ध सबै पक्षसँग अन्तरक्रिया गरी तीनवर्षे रणनीतिक योजना तयार पारिएको बताए । उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै देशको आर्थिक–सामाजिक अवस्था सुदृढ गर्न प्रतिबद्ध व्यवसायीहरुद्वारा रणनीति तयार पारिएको उल्लेख गरे ।

महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात एक खर्बबाट दुई खर्ब रुपैयाँमा पुर्‍याउने रणनीति बनाएको र आगामी पाँच वर्षमा सात खर्बमा निर्यात पुर्‍याउने लक्ष्य लिएको उनले बताए ।

निर्यात बढाउनका लागि महासंघले सरकार र व्यवसायीहरुको बीचमा समन्वय गरी निर्यात व्यवसायीको संरक्षण गर्ने काम गर्दै आएको पनि अध्यक्ष गुरुङले बताए । निर्यात प्रवर्द्धनका लागि उपयुक्त नीतिगत एवं व्यावहारिक व्यवस्थाका लागि महासंघले छोटो समयमा महत्वपूर्ण कार्य गर्न सफल भएको उनको भनाइ छ ।