औँलोको उच्च जोखिममा रहेका सुदूरका स्थानीय तहमा कीटनाशकयुक्त झुल वितरण

औँलोको उच्च जोखिममा रहेका सुदूरका स्थानीय तहमा कीटनाशकयुक्त झुल वितरण

कञ्चनपुर । औँलोको उच्च जोखिममा रहेका सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा कीटनाशकयुक्त झुल वितरण गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औँलो प्रभावित जिल्लाका स्थानीयवासीलाई एक लाख दुई हजार कीटनाशकयुक्त झुल वितरण गर्ने जनाइएको छ।

कञ्चनपुरको पुर्नवास नगरपालिकामा आयोजित कार्यक्रममा महाशाखाका निर्देशक डा कृष्ण पौडेलले स्थानीयवासीलाई कीटनाशकयुक्त झुल प्रदान गरी शुभारम्भ गर्दै औँलोको उच्च जोखिममा रहेका स्थानीय तहका वडाका दुई जना व्यक्ति बराबर एक थान झुल उपलब्ध गराइने बताए।

उनका अनुसार वयस्क छोरा, छोरी, विधुवा, विधुर, दीर्घ क्षयरोगी, गर्भवतीलाई भने प्रति व्यक्ति एक थानका दरले झुल उपलब्ध गराइने छ। सन् २०२५ सम्ममा नेपालबाट औँलो रोग निवारण गर्ने लक्ष्य अनुरुप झुल वितरणको कार्यलाई अगाडि बढाइएको छ। “औलो रोग सार्ने एनोफिलिस लामखुट्टेको आयु कम गरेर औँलो रोग निवारण गर्न सकिन्छ”, उनले भने “लामखुट्टेको आयु घटाउनका लागि कीटनाशकयुक्त झुलले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।” नेपालमा सन् २००५ देखि ग्लोबल फण्डको सहयोगमा कीटनाशकयुक्त झुल वितरण हुँदै आएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म कैलालीको बर्दगोरिया गाउँपालिकाका, गौरीगङ्गा नगरपालिका, लम्की चुहा नगरपालिका र धनगढी उप महानगरपालिकामा गरी ३७ हजार ९०० थान कीटनाशकयुक्त झुल वितरण भैसकेको छ। कञ्चनपुरमा १९ हजार आठ सय झुल वितरणको कार्य हुनेछ। जसमध्ये नगरपालिकामा पाँच हजार ४०० झुल वितरणको कार्य शुरु भएको छ।

अन्य बाँकी रहेका वडामा कीटनाशकयुक्त झुल वितरणको कार्य भैरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए। उनका अनुसार एक लाख ४३ हजार व्यक्तिलाई एक लाख दुई हजार थान झुल चालु आवमा वितरण गरिनेछ। छ वटा प्रदेशमा ४५ प्रतिशत आँैलो रोगी रहेका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै कूल औँलो रोगीको सङ्ख्या ५५ प्रतिशत रहेको छ।

नेपालमा सन् २००२ मा देशभरि कूल औँलो रोगी १२ हजारभन्दा बढी रहेकोमा सन् २०१९ सम्म आइपुग्दा ६१७ मा झरेको छ। औँलो रोगको सङ्ख्या घटनुमा किटनाशक झुलको पनि महत्वपूर्ण भूमिका रहेको छ। त्यसकारण कीटनाशकयुक्त झुल वितरणको कार्यलाई निरन्तरता दिँदै आएको छ।