कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि तयारी पुरा

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि तयारी पुरा

धनगढी : शनिवार हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि तयारी पुरा भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि चार मतदान केन्द्र बनाईएको छ भने एउटा मतदान केन्द्रबाट एकैपटक चार मतदाताले मतदान गर्न पाउनेछन । जस अनुसार पहिलो मतदान केन्द्र ‘क’ मा मतदाता सख्या एक देखि ६ सय ५४ र ‘ख’ मतदान केन्द्रमा ६ सय ५५ देखि १ हजार ३ सय ७० सम्मका मतदाताले मतदान गर्नुपर्ने छ ।

त्यस्तै, ‘ग’ मतदान केन्द्रमा १ हजार ३ सय ७१ देखि १ हजार ९ सय ६१ तथा ‘घ’ मतदान केन्द्रमा १ हजार ९ सय ६२ देखि २ हजार ७ सय ४ सम्मका मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिृकत यादव बहादुर भण्डारीले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

शनिवार विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान गर्नका लागि कैलाली उद्योग वाणिज्य सघको जारी गरेको प्रमाणपत्र र नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कुनै पनि कागजात अनिवार्य गरिएको संघका कार्यकारी निर्देशक ज्योति भट्टले बताए । 

मुख्य सात पदाधिकारी र ११ जना सदस्य गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा ५० जनाको उम्मेद्वारी परेको छ । संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुवर र सदस्य डिल्लिराज अवस्थीले प्यानल सहित चुनावी मैदानमा हुनुहुन्छ ।

यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता विवाद सम्बन्धि मुद्धा परेपछि स्थगित भएका थियो । त्यसपछि सदस्यता छानविनपछि चुनाव हुन लागेको हो।