प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको हो ।

बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकको पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध विषयमा छलफल हुने बताइएको छ ।

यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ती जनाएका थिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन् ।