करिब ३८ करोड मूल्यको स्वदेशी काठ जङ्गलमै कुहियो

करिब ३८ करोड मूल्यको स्वदेशी काठ जङ्गलमै कुहियो

केही वर्ष अघिदेखि कटान गरी घाट गद्यी गरेर वन क्षेत्रमा राखिएको सखुवाको गोलिया समेत सरकारको स्पष्ट नीति अभावमा घाट गद्यीमै कुहिन थालेको छ।सरकारले गत जेठ १५ देखि जङ्गलबाट काठ निकाल्न रोक लगाएपछि मोरङको चार कोशे जङ्गलमा घाट गद्यी गरेर राखिएको ६९ हजार क्यूफिट सखुवाको गोलिया काठ घाट गद्यीमै कुहिन थालेका हुन् ।

यता आफ्नै जङ्गलको सखुवाको काठ निकाल्न रोक लगाएपछि विदेशी मुलुक भारत, थाइल्यान्ड र मलेसियाबाट वार्षिक रूपमा झन्डै ४० करोड मूल्यको सखुवाको काठ आयात भएको विराटनगर भन्सारको तथ्याङ्क छ । डिभिजन वन कार्यालय मोरङका अनुसार चार कोशे जङ्गलमा रहेका १ सय ३४ वटा सामुदायिक र चार वटा साझेदारी वन समूहले सङ्कलन गरेको ६९ हजार क्यू फिट सखुवाको काठ र करिब २५ हजार क्यू फिट कु काठ कुहिन थालेको हो ।

सखुवाको काठको बजार मूल्य अहिले प्रति क्यू फिट ५ हजार ५ सय रुपैयाँ छ । सरकारी औसत मूल्य सखुवाको प्रति क्यू फिट ८ सय छ । डिभिजन वन कार्यालयका अधिकृत दीपक पोखरेलले भने सरकारी औसत मूल्यमा पनि कुहिन थालेको ६९ हजार क्यू फिट सखुवाको मूल्य ५ करोड ५२ लाख हुन्छ ।बजार मूल्यका आधारमा उक्त काठको मूल्य करिब ३८ करोड हुन्छ । पोखरेलले भने घाट गद्यी गर्दा क वर्गको काठ अहिले कुहिएर ख वर्गमा परिणत भएको छ । ख  वर्गको ग वर्गमा झरेको छ । ग वर्गको काठ कुहिएर कामै नलाग्ने भएको छ ।

सरकारले जेठ १५ गतेदेखि जङ्गलबाट काठ निकाल्न रोक लगाएको हो । उक्त काठ  जेठ १४ सम्ममा घाट गद्यी गरिएको हो । डिभिजन वन कार्यालय मोरङका अनुसार त्यसयता घाट गद्यी नगरिएको ढला पडा रुख जङ्गलमै कुहिएका छन् । गत ११ माघको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गर्दै सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गर्दै वैज्ञानिक वन कार्यक्रम कार्य योजना कार्यान्वयनमा रोक लगाएको छ ।