मेरो देशका बालकहरू सब बालिग भएछन्

मेरो देशका बालकहरू सब बालिग भएछन्

मेरो देशका बालकहरू सब बालिग भएछन्।
बस्तीमा मजदुर सकिएछन् मालिक भएछन्।

सज्जनहरूको बोली पनि बिक्दैन बजारमा,
लाग्छ नबोलुँ इमान्दारहरू सालिक भएछन्।

रहर सबैको पुजीवाद हुँदा मञ्चका भाषण,
समाजवादका नाराहरू त कालिक भएछन्।

नेताहरू आफ्ना काममा सिपालु देखिन्छन्
आन्दोलन गाली ढुङ्गा मुढा तालिम भएछन्।

प्रतिनिधि छनौट गर्न सकेनौ नेपालीहरू हो,
तिमी इमान्दार ठान्छौ झन जालिम भएछन्।

साच्चै नेताहरू अल्पमतमा परे स्वार्थी जिते,
फटाहाहरू पुगेर पदमा भद्र शालीन भएछन्।


 २०७७/१०/२० महेन्द्रनगर