नाभाल्नीलाई जेल सजाय दिइएको विरोधमा रुसमा प्रदर्शन

नाभाल्नीलाई जेल सजाय दिइएको विरोधमा रुसमा प्रदर्शन

रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ ।

ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रह समेत गरेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नाभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उलङ्घन गरेको भन्दै करिब तीन वर्षको जेल सजाय सुनाएको छ । गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनलाई सो समयदेखि हालसम्म हिरासतमै राखिएको थियो  गत अगस्टमा घातक विष हालेर खुवाइएपछि  बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो र उनले जर्मनीमा उपचार भएको थियो ।