सिमसार क्षेत्र जोगाउन प्लास्टिक जन्य फोहोर सरसफाइ

सिमसार क्षेत्र जोगाउन प्लास्टिक जन्य फोहोर सरसफाइ

कञ्चनपुर । जथाभाबी प्लास्टिक जन्य फोहर फालिएका कारण सिमसार क्षेत्रहरूमा नकारात्मक असर पर्ने गरेको छ ।

प्लास्टिक नकुहिन फोहर भएकाले हावाले उडाएर र पानीले बगाएर ताल र सिमसार क्षेत्रमा पुग्ने र त्यो सतहमा जम्मा हुँदै जाँदा सिमसार क्षेत्र सुक्दै जाने भएकाले सिमसार क्षेत्रको संरक्षणका लागि फोहोर व्यवस्थापन मुख्य चुनौती रहेको छ ।

शुक्लफाटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरले यस वर्षको विश्व सिमसार दिवसको अवसरमा हेडक्वार्टर , पूर्वी सेक्टरको अर्जुनी र दक्षिण सेक्टरको बेल्डाडीमा प्लास्टिक जन्य फोहोर व्यवस्थापन र सरसफाइ कार्यक्रमको आयोजना गरी सिमसार दिवस मनाएको निकुञ्जले जनाएको छ ।

सेना, सशस्त्र प्रहरी, सामुदायिक चोरी शिकारी नियन्त्रण समिति र विद्यार्थीहरूको सहभागितामा शुक्ल फाटा राष्ट्रिय निकुञ्जको हेडक्वार्टर मझगाउ, पूर्वी सेक्टरको अर्जुनीमा बाबा ताल र बरकोलासम्मको वनपथ र दक्षिण सेक्टरको बेल्डाडीमा कालिकिच तालको र आसपासको सडकको सरसफाइ गरिएको निकुञ्जको सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनु भएको छ ।

उहाँले प्लास्टिक जन्य फोहोर हावाले उडेर र पानीसँगै बगेर सिमसार क्षेत्रहरूमा जम्मा हुने र बिस्तारै फोहर जम्दै जाँदा तालहरू सुक्दै जाने गरेका कारण सिमसार क्षेत्रको संरक्षणका लागि सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ ।

कञ्चनपुर जिल्लामा प्रसिद्ध वेदकोट ताल, झिलमिला ताललगायत एक दर्जन बढी तालहरू भए पनि सिमसार सूचिमा सूचीकृत भने गरिएका छैनन् ।