बझाङमा वर्षा सँगै हिमपात, जनजीवन कष्टकर

बझाङमा वर्षा सँगै हिमपात, जनजीवन कष्टकर

बझाङ । बिहीबार बिहानै देखि मौसममा आएको परिवर्तन सँगै बझाङमा भारी हिमपात भएको हो । 

भदौ देखिको लामो खडेरीले सुख्खा भइरहेको बझाङमा बिहीबार रातिदेखि वर्षा सँगै हिमपात सुरु भएको छ । हिमपात र वर्षाका कारण चिसो बढेको छ । गतबर्ष मैसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यष बर्ष ढिला हिमपात भएको हो । 

जिल्लाको बुङगल नगरपालिका, छविसपाथीभेरा, तल्कोट, साइपाल, मष्टा खप्तड छान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म पुग्न सकिने अवस्था नरहेको बुङगल नगरपालिका वडा नं २ का जय धामीले बताए । उनले भने गाउँमा २ फिट भन्दा बढी हिउँ परेको छ ।  

एक घर बाट अर्को घरसम्म जान सकिने अवस्था छैन । दैनिक कामकाजका लागी मानिसहरू घर बाहिर निस्कन सकेका छैनन् । हिमपात र वर्षा सँगै बढेको चिसोका कारण दैनिक कामकाज गर्न असहज भएको उनको भनाई छ । विगतका वर्षहरूको भन्दा यसबर्ष चिसो अध्याधिक बढेको स्थानीयहरूको भनाई छ । चिसोको असर बालबालिका र बृद्धबृद्धाहरुमा बढी परेको छ ।

हिमपातका कारण आंशिक रूपमा टेलिफोन, यातायातका र विद्युत् सेवा प्रभावित भएको छ । बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थली लगायतका ठाँउहरुमा बाक्लो हिमपात भएका कारण बझाङ भित्रने सावरी साधनहरूलाई सकस भएको छ । बादलले सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रूपमा प्रभावित भएको छ । बिहीबार देखी नै बेला बेलामा नेटवर्कले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका वडा नं १० देउलीकोटका मोहन बोहराको भनाई छ । 

वर्षा नभएका कारण अधिकांश क्षेत्रमा हिउदेबाली राम्ररी उम्रन पाएका छैनन् भने उम्रेका वाली पनि सुकेर पहेँलो हुन थालेका छन् । ढिलो गरी पानी परे पनि यो वर्षा बालीनालीका लागी पर्याप्त नभएको किसानहरूको भनाई छ । विगतका वर्षहरूमा कार्त्तिकको पहिलो साता तिर हिमपात भएको थियो । यसपालि ढिला गरी हिमपात भएको छ । ढिला गरी हिमपात भए पनि बाली सप्रने किसानहरूको भनाई छ ।