नेपाल आयल निगम दैनिक साढे ६ करोड नोक्सानमा

नेपाल आयल निगम दैनिक साढे ६ करोड नोक्सानमा

नेपाल आयल निगम (एनओसी) दैनिक साढे ६ करोड नोक्सानको अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानको अवस्थामा पुगेको हो ।

निगमले गरेको पछिल्लो प्रक्षेपण अनुसार फेब्रुअरीको सुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट उसलाई ९७ करोड ७५ लाख रुपैयाँ बराबरको नोक्सान हुने देखिएको छ । पेट्रोल, डिजेल र  खाना पकाउने एलपी ग्यासको घाटाका कारण यस्तो नोक्सान हुने अवस्था देखिएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले सोमबार पठाएको मूल्यसूची अनुसार फेब्रुअरी महिनाको पहिलो पाक्षिकका लागि पेट्रोलको प्रतिलिटर ५१ रुपैयाँ ६९ पैसा, डिजेलको ५२ रुपैयाँ ३९ पैसा, मट्टितेलको ४८ रुपैयाँ ७६ पैसा र हवाई इन्धनको ४८ रुपैयाँ ५ पैसा तिर्नुपर्छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १ हजार १ सय २९ रुपैयाँ ८१ पैसा भुक्तानी गर्नुपर्छ । 

आईओसीले पठाएको मूल्यमा विविध प्रकारका कर, शुल्क, ढुवानी भाडा, ह्रासकट्टि समेत गरी निगमको कुल लागत निगमलाई पेट्रोलमा १ सय १६ रुपैयाँ ८० पैसा पर्न आउँछ । त्यस्तै, डिजेलमा प्रतिलिटर ९७ रुपैयाँ ६७ पैसा, मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ ९० पैसा, आन्तरिक हवाई इन्धन प्रतिलिटर ६३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १ हजार ६ सय ७५ रुपैयाँ ११ पैसा लागत पर्छ । 

अहिले बजारमा पेट्रोलियम पदार्थ उपलब्ध पेट्रोलियम पदार्थमध्ये पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल ९३ रुपैयाँ, आन्तरिक हवाई इन्धन ६५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिलिटर ०.८६८ अमेरिकी डलर लिँदै आएको छ । त्यस्तै, खाना पकाउने ग्यासको बिक्री मूल्य १ हजार ३ सय ७५ रुपैयाँ तोकिएको छ । 

यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ ८० पैसा, डिजेलमा ४ रुपैयाँ ६७ पैसा नोक्सान हुँदै आएको छ । मट्टितेलमा निगमलाई प्रतिलिटर १८ रुपैयाँ १० पैसा र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३५ रुपैयाँ ८७ पैसा नाफा हुँदै आएको छ । खाना पकाउने ग्यासमा भने प्रति सिलिन्डर ३ सय १७ रुपैयाँ ११ पैसा नोक्सान हुने निगमले जनाएको छ ।