१७ वर्षीया किशोरी भागरथीको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग देउवाको माग

१७ वर्षीया किशोरी भागरथीको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग देउवाको माग

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । देउवाले उक्त घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न शनिबार माग गर्नुभएको हो ।

देउवाले १७ वर्षीया किशोरीको हत्याको घटनाले आफू निकै मर्माहित भएको पनि उल्लेख गर्नुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घर नजिकैको जंगलमा शव भेटिएको थियो ।

भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीको आशंका छ । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको सिआइबीको टोली पनि घटनास्थल खटिएको छ। भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बैतडीका प्रहरीले जनाएको छ ।

गत बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।