प्रचण्ड–नेपाल समूह दोस्रो शक्ति प्रदर्शनको तयारीमा

प्रचण्ड–नेपाल समूह दोस्रो  शक्ति प्रदर्शनको तयारीमा

नेकपाका दुई समूहबीच प्रदर्शन र सभाको होडबाजी चलिरहेका वेला प्रचण्ड–नेपाल समूहले २८ माघमा दोस्रोपटक राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले ९ माघमा पहिलोपटक शक्ति प्रदर्शन गरेको थियो । लगत्तै ओली समूहले २३ माघका लागि शक्ति प्रदर्शनको मिति तोकेपछि प्रचण्ड–नेपाल समूहले दोस्रोपटक शक्ति प्रदर्शनको तयारी थालेको थियो । 

केन्द्रीय संघर्ष समितिका सहसंयोजक सूर्य सुवेदी ‘पथिक’ले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनकारी, प्रतिक्रान्तिकारी कदमविरुद्ध देशव्यापी रूपमा जनआक्रोश बढ्दै गएकाले २८ माघको प्रदर्शनमा अघिल्लो पटकभन्दा दोब्बर जनसहभागिता रहने दाबी गरे । ‘प्रधानमन्त्रीको प्रतिगमन र प्रतिक्रान्तिकारी कदमविरुद्ध देशव्यापी रूपमा जनता आन्दोलित हुँदै गएका छन् । संवैधानिक परिषद्बाट संवैधानिक अंगहरूमा गैरसंवैधानिक र गैरकानुनी नियुक्तिपछि जनआक्रोश झन् चुलिएको छ,’ सुवेदीले भने, ‘त्यसकारण यसपटकको बृहत् आमसभामा अघिल्लो पटकभन्दा दोब्बर जनता सहभागी हुनेछन् ।’

उनले गैरसंवैधानिक र गैरकानुनी कदमका विषयमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा विचाराधीन मुद्दामा संविधानसम्मत र कानुनसम्मत निष्पक्ष फैसला आउने विश्वास रहे पनि जनताको पहल र जागरणलाई निरन्तरता दिन प्रतिगामी कदमविरुद्ध तेस्रो चरणको उत्कर्षका रूपमा बृहत् आमसभा गर्न लागिएकोसमेत जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले बृहत् विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मूल जुलुस निकाल्ने तयारी गरेको छ । सुन्धाराबाट सुरु हुने मूल जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गर्दै छन् । मध्याह्न १२ बजे मूल जुलुस सुरु हुनुअघि राजधानीका पाँच स्थानबाट सहायक जुलुस निकालिने केन्द्रीय संघर्ष समितिले जनाएको छ । सहायक जुलुसहरू पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केसरमहल र जमलबाट सुरु हुनेछन् ।

जसअनुसार पुल्चोकबाट सुरु हुने जुलुस कुपन्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुसमा मिसिनेछ । त्यस जुलुसको नेतृत्व रघुजी पन्त, कृष्णबहादुर महरा, पम्फा भुसाल, र प्रमेश हमालले गर्नेछन् । ललितपुरका केन्द्रीय सदस्य, प्रदेश कमिटी, संघ र प्रदेशका सांसदहरू पनि उक्त जुलुसमा सहभागी हुनेछन् ।

त्यस्तै, त्रिपुरेश्वरबाट सुरु हुने सहायक जुलुस सुन्धारामा मिसिनेछ । जुलुसको नेतृत्व स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन र विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् । माइतीघरबाट सुरु हुने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ । त्यस सहायक जुलुसको नेतृत्व अमृतकुमार बोहरा, भीम आचार्य, गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव र हरिबोल गजुरेललगायतका नेताले गर्नेछन् ।

त्यस्तै, केसरमहलबाट सुरु हुने जुलुस दरबारमार्ग, जमल, कमलादी, असन, इन्द्रचोक, न्युरोड हुँदै मूल जुलुसमा सहभागी हुनेछ भने नेतृत्व भीमबहादुर रावल, देवप्रसाद गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेललगायतका नेताले गर्नेछन् । जमलबाट सुरु हुने जुलुस कमलाक्षी, असन, इन्द्रचोक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यस जुलुसको नेतृत्व लीलामणि पोखरेलसहित केन्द्रीय सदस्यहरूले गर्नेछन् । मूल जुलुस सुन्धाराबाट सुरु भएर वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ ।

प्रचण्ड–नेपाल समूहले गत १४ माघमा पनि भृकुटीमण्डपमै विरोध सभा आयोजना गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्री केपी ओली समूहले नारायणहिटी दरबारमार्गमा बृहत् सभा राखेर शक्ति प्रदर्शन गरेको थियो । सभाअघि ओली समूहले काठमाडौंका १६ स्थानबाट जुलुस निकालेको थियो । शक्ति प्रदर्शनलाई बृहत् बनाउन प्रचण्ड–नेपाल समूहले काठमाडौंबाहिरबाट समेत जनसहभागिता गराउने तयारी गरेको छ । बृहत् आमसभाकै आसपासमा नेकपाले श्वेतपत्रसमेत जारी गर्ने गरी तयारीको काम अगाडि बढाइरहेको छ ।  -आजको नयाँ पत्रिका मा खबर छ ।