पहिलो टेस्टमा भारत २२७ रनले पराजित

पहिलो टेस्टमा भारत २२७ रनले पराजित

भारत भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको पहिलो टेस्टमा २२७ रनको विजय हासिल गरेको छ । जीतका लागि ४२० रनको विशाल लक्ष्य पछ्याएको भारत पाँचौं दिनमा १९२ रनमा समेटिँदै हार बेहोर्न बाध्य भयो ।

कप्तान विराट कोहलीले ७२ रन बनाएर भारतलाई हारबाट जोगाउन कोशिश गरेको भए पनि त्यो पर्याप्त रहेन । उनीबाहेक शुभमन गिलले ५० रन बनाएका थिए । अन्य सबै ब्याट्स्म्यान फ्लप रहे । इंग्ल्यान्डका बलर ज्याक लीचले चार र जेम्स एन्डरसनले तीन विकेट लिए ।

चेन्नईको चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङमा ५७८ रनको विशाल स्कोर खडा गरेको थियो । कप्तान जो रूटले दोहोरो शतक प्रहार गर्दै २१८ रन बनाए । डोमिनिक सिब्लेले ८७ र बेन स्टोक्सले ८२ रनको योगदान दिए ।

जवाफमा भारतले जम्मा ३३७ रन बनायो । उसका लागि विकेटकीपर ब्याट्स्म्यान ऋषभ पन्तले सर्वाधिक ९१ अनि वाशिङटन सुन्दरले ८५ र चेतेश्वर पुजाराले ७३ रनको योगदान गरे । इंग्ल्यान्डका लागि डोमिनिक बेसले चार विकेट हात पारे ।

पहिलो इनिङमा भारतलाई २४२ रनले पछि पारेको भए पनि इंग्ल्यान्डले फलोअन गराएन । आफैं ब्याटिङ गर्दै उसले ४६।३ ओभरमा १७८ रन बनायो । जो रूटको सर्वाधिक स्कोर ४० रह्यो ।

कीर्तिमान ४२० रनको लक्ष्य पछ्याएको भारतको पहिलो विकेट हिजै खसिसकेको थियो । आज अन्तिम दिनको खेलमा पनि उसका विकेटहरू लगातार खसिरहे र हार बेहोर्न बाध्य भयो ।

आफ्नो उत्कृष्ट ब्याटिङका लागि जो रूट म्यान अफ द म्याच घोषित भए । शृंखलाको दोस्रो खेल शनिवार चेन्नईको चिदम्बर स्टेडियममा नै शुरू हुनेछ ।