तीन दिनसम्म मौसम बदली हुने, तत्काल वर्षाको सम्भावना न्यून

तीन दिनसम्म मौसम बदली हुने, तत्काल वर्षाको सम्भावना न्यून

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित तराई तथा पहाडका केहि भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ । अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बदली हुने मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभावले मौसम बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको बताइएको छ ।

आज दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज राती वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।