कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डः दिनेश सोपद्धारा बर्ष प्रशिक्षक विधा प्रायोजन

कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डः दिनेश सोपद्धारा बर्ष प्रशिक्षक विधा प्रायोजन

धनगढी । धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष प्रशिक्षक विधालाई दिनेश सोपले प्रायोजन गरेको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष प्रशिक्षक विधालाई दिनेश ग्रुपको कैलालीको पहलमानपुरमा रहेको दिनेश सप एण्ड हाउसहोल्ड इण्ड्रष्ट्रिज प्रालिले प्रायोजन गरेको हो ।

पहिलो स्पोर्टस अवार्डमा पनि दिनेश सोपले बर्ष प्रशिक्षक विधालाई प्रायोजन गरेको थियो । दोस्रो संस्करणमा पनि सोपले विधा प्रायोजनालाई निरन्तरता दिएको छ ।  अवार्ड अन्तर्गतको यो विधाको नाम दिनेश सोप वर्ष प्रशिक्षक रहनेछ ।

दिनेश सोपका प्रवन्ध निर्देशक देवेन्द्र हमाल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सुदूरपश्चिममै पहिलो पटक कैलालीमा २५ करोडको लगानीमा दुई बर्ष अघि साबुन उद्योग सञ्चालनमा ल्याईएको छ ।

साबुन उद्योगले साबुनजन्य सामान डिर्टजेन्ट पाउडर र साबुन उत्पादन गर्दै आएको छ । दिनेश डिटर्जेन्ट पाउडर उत्पादन थालेको उद्योगले अहिले लुगा धुने साबुन उत्पादन गर्दै सुदूरपश्चिमका नौ वटै जिल्लामा बिक्री वितरण गर्दै आएको छ ।

सुदूरपश्चिमको बजारमा लोकप्रिय बन्दै गएको दिनेश सोपका उत्पादनहरु काठमाडौँ लगायत देशका विभिन्न शहरहरुमा पनि विक्री वितरण भईरहेको छ । साबुन उद्योगबाट अहिले लुगा धुने पाउडर, साबुन, भाडा धुने साबुन र साबुनजन्य अन्य समाग्री समेत उत्पादन भईरहेको छ ।

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । मुख्य प्रायोजक कैलाली अस्पताल रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, बर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल, स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनीक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् ।

अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ । 

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।  

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।  


यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।