भारतमा शक्तिशाली भूकम्प

भारतमा शक्तिशाली भूकम्प

भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रमा शुक्रबार राति भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार राती १० बजेर ३१ मिनेटमा नयाँ दिल्लीसहित उत्तर भारतका पन्जाब, जम्मु-कस्मिर, हरियाणा, राजस्थानलगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो। 

रातिको समय भूकम्प गएपछि स्थानीयको भागाभाग भएको थियो। घरबाट बाहिर निस्किएका थिए। तर अहिलेसम्म कुनै किसिमको क्षतिको खबर आएको छैन।

भारतको नेसनल सेन्टर फर सिस्मोलजी (एनसीएस) का अनुसार ताजकिस्तान केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो। 

साथै अफगानिस्तान र पाकिस्तानका पेसावर, इस्लामाबाद, लाहौरमा समेत भूकम्पको तीव्र धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ। 

उता समाचार एजेन्सी रोयटर्सले भारतीय मौसम विभागका वैज्ञानिक जी सुरेशको भनाइ उधृत गर्दै लेखेको छ– १० मिनेटभित्र एसिया महाद्वीपमा दुईपटक भूकम्प गएको छ, एक ताजकिस्तानमा र अर्काे चीनको सिसुआनमा।’

मौसम विभागका अनुसार भूकम्पका कारण उत्तरी कस्मिरमा धेरैवटा घर चर्किएका छन् भने पन्जाबको अमृतसरमा एउटा पर्खाल भत्किएको छ। तर अहिलेसम्म हताहतीको जानकारी प्राप्त भएको छैन।