कैलालीको राजमार्गमा देखियो पाटे बाघ

कैलालीको राजमार्गमा देखियो पाटे बाघ

धनगढी । कैलालीको राजमार्ग क्षेत्रमा पाटे बाघ देखिन थालेको छ । जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुर र बडैपुरको बिचमा पर्ने पूर्वपश्चिम रामार्गको वन क्षेत्रमा बाघ देखिएको हो । 

गौरीगंगा नगरपालिका–८ कि वडासदस्य विनिता महरले वन क्षेत्रमा बाघ देखिन थालेको जानकारी दिइन् । बाघ घाँस काट्न गएका स्थानीयको पछि लागेको थियो भने जिल्लाकै उदासिपुरमा गाईमाथि समेत आक्रमण गरेको छ । 

यसअघि जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका करिब २७ वर्षीय दुर्गा चौधरीलाई शुक्रबार विहान बाघले आक्रमण गरि घाइते बनाएको थियो । 

सामुदायिक वनमा विवाहको लागि पात टिप्न गएका चौधरीलाई बाघले आक्रमण गरेको थियो । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट बाघ कैलाली भित्रिएको वनकर्मीले बताएका छन् ।