बझाङमा किसान माइक्रोफाइनान्सको अलमल्ल काम: सेवाग्राही भन्छन्, 'राती निन्द्रा लाग्नै छोड्यो'

बझाङमा किसान माइक्रोफाइनान्सको अलमल्ल काम: सेवाग्राही भन्छन्, 'राती निन्द्रा लाग्नै छोड्यो'

बझाङ । बझाङको बुङ्गल नगरपालिका स्थित एक वित्तीय संस्था (किसान माइक्रो फाइनान्स) ले भनेको समयमा लगानी भुक्तानी नदिँदा सेवाग्राही मारमा परेका छन् । 

प्रधान कार्यालय कैलालीको लम्किमा रहेको किसान माइक्रो फाइनान्स को बुङ्गल शाखाले भनेको टाइममा लगानी नदिएको हो । विगत ३ वर्ष देखि शाखाले सेवा दिँदै आएको यस संस्था ले बझाङका हरेक स्थानमा आफ्नो समूह बनाई मासिक व्यक्तिगत बचत गर्ने , समूह बचत गर्ने र आवश्यक परेको खण्डमा कर्जा लगानी पनि गर्ने गरेको छ। 

यस शाखा कार्यालयका एक सेवा ग्राही हरिना कार्की (नाम परिवर्तन) ले गुनासो गर्दै भनिन्, 'पहिले नि समस्यामै थियौँ फेरि समस्या पर्‍यो कर्जा निकाल्नु पर्‍यो भनेर गएको माघ २१ गते लगानी माग गर्‍यौ । तर अहिले सम्म लगानी भुक्तानी भएको छैन ।'

उनी भन्छिन्, 'मेरो पुरानो कर्जा तिर्नु पर्ने ६६ हजार थियो नयाँ कर्जाका लागि त्यो पुरानो रकम चुक्ता गर्नु पर्छ । आफू सङ्ग पैसा हुँदैन दैनिक छाक टार्न धौ धौ पर्छ फेरि समस्या परि हाल्यो भनेर ६६ हजार ७ दिन को भाका राखेर रिण लिएको आज १४ दिन बितिसक्दा पनि लगानी भुक्तानी भएको छैन । साहु ले दिन दिनै घर मा आएर धम्की दिँदै भन्छ, तेरो ७ दिन भएन ? मलाई त गारो पर्‍यो राती निन्द्रा लाग्नै छोड्यो ।' 

त्यहाँकै अर्का सेवाग्राही ३५ वर्षीय हरि सिंह (नाम परिवर्तन) को गुनासो पनि केही उस्तै छ । उनी भन्छन्, 'मेरो नि त्यस्तै छ २१ गते समूहमा उपस्थित माइक्रोका कर्मचारी ले पुरानो कर्जा चुक्ता गर्नु पर्ने अनि पछि मात्र नयाँ लगानी हुन्छ भनेर पुरानो १ लाख २७ हजार गाउँका एक साहु सङ्ग ३ दिन को भाका राखेर रिण लिए अहिले सम्म माइक्रो ले लगानी गरेन । पुरानो पैसा तिर्ने बेला नै भएको हामीले त छिटो भुक्तानी हुने भए मात्र रिन निकाल्छौ नत्र निकाल्दैनौ भएको तर माग फारम भर्ने र पैसा बुझ्ने बेला माइक्रोका कर्मचारी ज्युले तपाईँ को काम भोलि पर्सि भित्र भई हाल्छ भन्नू भो तर अहिले सम्म भएन । अब हामी जस्तो गरिब लाई १ लाख २७ हजार जस्तो रकम कसले दिन्छ ? पहिले पनि त्यही बाट १ लाख ५० हजार कर्जा लिएर पसल थापेको पसल अलि बढ्ला भनेर फेरि कर्जा निकाल्न लागे अब आफू सङ्ग भएको पैसा पनि सकियो साहुले दैनिक जसो सताउँछ के गर्नु, के नगर्नु भयो । किसान माइक्रो फाइनान्समा हरेक महिना लगानी माग गर्ने करिब २ देखि ३ सय सदस्य हुन्छन् । यसमध्ये हामी त उदाहरण मात्र हौँ ।'

यसबारेमा बुझ्नको लागी किसान माइक्रो फाइनान्स बुङगल शाखाकी कर्मचारी (फिल्ड सहायक) सरस्वती कार्किले आफूहरू सेवाग्राहीको सेवामा सदैव कटिबद्ध भएर लागिपरेको र आफूहरूले क्षेत्रीय कार्यालयमा पन्ध्र लाख फण्ड माग गरी सकेको भए पनि यहाँ शाखा को खातामा रकम जम्मा नभएको हुँदा केही समय ढिलाइ भएको बत्ताइन् । उनले भनिन्, 'हामीले क्षेत्रीय कार्यालयमा माग गरेको रकम हाम्रो खातामा आइपुगेको छैन, तर क्षेत्रीय कार्यालयमा सोध्दा रकम जम्मा गरी सकेको जवाफ पाएका छौँ हामी हाम्रो शाखाको खातामा रकम पुग्नासाथ सेवाग्राहीहरूलाई दिन्छौँ।' उनले भनिन् । 

सो विषयमा कार्की आफै अन्योलमा छिन जस्तो लागेपछि हामीले  किसान माइक्रो फाइनान्स बुङगल शाखाका शाखा प्रमुख प्रेम परियार सँग बुझ्दा उनले पनि आफ्नो शाखामा रकम अभाव भएको र थप रकम माग गरेमा ढिलाइ भएको बताए । उनले भने, 'तत्काल हाम्रो शाखामा रकम अभाव छ । रकम अभाव भएपछि अन्य शाखा, क्षेत्रीय कार्यालय अथवा केन्द्रीय कार्यालयबाट रकम माग गरी परिपूर्ति गर्ने गछौं र अहिले पनि त्यही प्रक्रियामा थियौँ तर अहिले समय नै यस्तै जुर्‍यो महिनाको अन्तिम दिन, शनिवार अनि सार्वजनिक बिदा ले गर्दा बैङ्किङ कारोबार मा ढिलाइ हुँदा सो समस्या सिर्जना हुन पुग्यो । म हाम्रो शाखा बाट सेवा लिई राख्नुभएका सेवाग्राही हरू सँग आज तिन गते भयो यो हप्ता भित्र तपाईँहरूको समस्या सुल्झाउने बचा गर्दछु ।' उनले भने ।