प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा जवाफी बहस सकियो

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा जवाफी बहस सकियो

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जारी बहसमा कानुन व्यवसायीहरूले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अवशिष्ट अधिकार नभएको जिकिर गर्नुभएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी निरन्तर सुनुवाइमा रिट निवेदक तर्फको जबाफी बहसमा कानुन व्यवसायीहरूले यस्तो जिकिर लिनुभएको हो ।

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सरकारी पक्षको बहसपछि निवेदक तर्फको जवाफी बहसमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ र शम्भु थापाले प्रधानमन्त्रीलाई संविधानले दिएको भन्दा बाहिरको अवशिष्ट अधिकार प्राप्त नहुने तर्क गर्नुभयो ।

जवाफी बहसकै क्रममा अधिवक्ताहरू टीकाराम भट्टराई, गोबिन्द बन्दीलगायतले संविधानको अमुक धारा उल्लेख गरेर प्रधानमन्त्रीलाई विघटनको अधिकार भएको भनी गरिएको व्याख्या गलत भएको बताउनुभयो ।

आज रिट निवेदनमाथिको जवाफी बहस सकिएको छ । सो रिटमा भोलिदेखि एमिकस क्युरीकोे बहस सुरु हुनेछ।

यसै गरी, अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशहरूले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ ।

यसअघि सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, र सुशीला कार्कीलाई अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेस गर्नुभएको छ भने बाँकी तीन जनाले संयुक्त रुपमा लिखित जवाफ दिनुभएको छ ।

चारै जना पूर्व प्रधानन्यायधिशहरुले लिखत जवाफमा आफूहरूले अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको उल्लेख गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटन भएपछि पुस २४ गते चार पूर्व प्रधानन्यायाधीशहरुले जारी गर्नुभएको विज्ञप्तिलाई लिएर अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले सर्वोच्चमा अपहेलना मुद्दा दायर गर्नुभएको थियो ।