परीक्षामा नम्बर कम ल्याएको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

परीक्षामा नम्बर कम ल्याएको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

दाङ। परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षा कोठा भित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका–७ स्थित माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फागुन ३ गते बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायव निरीक्षक मीनबहादुर शाहीले बताए ।

‘विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरेका हौँ’ उनले भने, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’

करिब दुई हप्ताअघि शिक्षक बिकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो । शिक्षक बिकले विद्यार्थी कुट्नु गल्ती रहेको स्वीकार गरेका छन् । -देशसञ्चारबाट