आजदेखि प्रदेश ७ मा २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

आजदेखि प्रदेश ७ मा  २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

धनगढी, १ चैत्र । आजदेखि सात नम्बर प्रदेशमा पनि २० वर्ष पुराना सार्वजनिक तथा पर्यटक बोक्ने सवारी साधन सञ्चालनमा रोक लगाईने भएको छ ।

यातायात व्यवस्था विभागको यहि फागुन २८ गतेको पत्र अनुसार सात नम्बर प्रदेशमा पनि २० वर्षे पुराना गाडी सञ्चालनमा रोक लगाईने भएको हो ।

यातायात व्यवस्था विभागले प्रदूषण, दुर्घटना र ट्राफिक जामको मुख्य कारण पूराना गाडी भएको उल्लेख गर्दै २० वर्ष पुराना गाडी तत्काल हटाउन निर्देशन दिएको थियो ।

सोही निर्देशनको पालना गर्न बुधवार धनगढीमा जिल्ला यातायात व्यवस्थापन समितिका सयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा समितिको बैठक बसेको थियो ।

उक्त बैठकले २० वर्ष पुराना गाढी सञ्चालनमा रोक लगाउने र २० वर्ष पुराना गाडी सडकमा गुडे÷नगुडेको निगरानी गर्न जिम्मा पनि यातायात व्यवस्थापन समितिलाई नै दिएको छ ।

आजदेखि २० वर्ष पुराना गाडी सञ्चालन गरि सुरुमा सम्झाई बुझाई गर्ने र नमाने जफत गरिने यातायात व्यवस्थापन समितिका सदस्य सचिव तथा सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुषालले बताउनुभयो ।

सेती अञ्चलमा मात्रै २० वर्ष पुराना ३ सय ९२ छन । जसमध्ये १६ जीप, ४९ टेम्पो र ३ सय २७ ट्रक तथा बस रहेका छन ।

महाकली अञ्चलमा पनि करिव ४ सयको हाराहारीमा २० वर्ष पुराना गाडी रहेको बताईएको छ ।