विरोधका लागि महिलाले न्यायाधीशलाई पठाइन् कन्डम

विरोधका लागि महिलाले न्यायाधीशलाई पठाइन् कन्डम

भारतको गुजरातमा बस्ने अनि आफूलाई राजनीतिक विश्लेषक भनी चिनाउने एक महिलाले बम्बे उच्च अदालतकी न्यायाधीश पुष्पा गनेडीवालालाई कन्डमको प्याकेट पठाएकी छन् । 

न्यायाधीश गनेडीवालाका विवादास्पद फैसलाले समाजमा रहेका अपराधीहरूमा गलत सन्देश प्रवाह गर्ने देवश्री त्रिवेदी नामक ती महिलाको भनाइ छ ।

त्रिवेदीले १२ वटा प्याकेटमा १५० वटा कन्डम प्याक गरेको यूट्युब भिडियो पनि अप्लोड गरेकी छन् । ती प्याकेट उनले उच्च अदालतमा अनि न्यायाधीशको सरकारी निवासमा समेत पठाएकी छन् ।

नागपुर इजलासमा वकालत गर्ने वकिलहरूको एक समूहले त्रिवेदीको कदमको आलोचना गरेका छन् र उच्च अदालत प्रशासनलाई उनीविरुद्ध उजुरी दर्ता गर्न तथा अदालतको अवहेलना मुद्दा दायर गर्न समेत माग गरेका छन् ।

आफ्नो कार्यको प्रतिरक्षा गर्दै त्रिवेदीले नाबालिग बालिकाहरूमागि गरिएका यौन दुर्व्यवहारका आरोपितलाई सफाइ दिने न्यायाधीशका फैसलाहरूले आफूलाई आक्रोशित पारेको बताइन् । 

‘गनेडीवालाले १२ वर्षीया बालिकाको कपडा नखोलिकन स्तन समात्ने पुरुषलाई छालाले छाला छोइएको थिएन भन्दै सफाइ दिइन् र त्यसको विरोध मैले कन्डम पठाएर गरेको हुँ । छालाको सम्पर्क नभएकाले ती पुरुषको कार्य यौन दुर्व्यवहारमा नपर्ने भनी उनले फैसला दिइन् । मलाई यो अनौठो लाग्यो र म ती बालिका तथा उनको परिवारको पीडा बुझ्न सक्छु,’ त्रिवेदीले भनिन् ।

त्रिवेदीले गनेडीवालाका विवादास्पद फैसलाको विरुद्ध अभियान शुरू गर्ने घोषणा पनि गरेकी छन् ।गनेडीवालाको फैसलाको संज्ञान सर्वोच्च अदालतले तत्कालै लिएको र अन्तरिम रोक लगाएकोमा प्रशंसा गर्दै त्रिवेदीले विवादास्पद फैसलाका कारण बालिका न्यायबाट वञ्चित भएको बताइन् ।