भागरथी हत्या प्रकरण: अभियुक्तले बलात्कारपछि हत्या गरेको स्विकारेपछि परिवारले शव बुझ्ने

भागरथी हत्या प्रकरण: अभियुक्तले बलात्कारपछि हत्या गरेको स्विकारेपछि परिवारले शव बुझ्ने

कैलाली ।  बैतडीमा हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथीका परिवारले १४ दिनदेखि अस्पतालमै रहेको शव बुझेका छन् । अभिभावकको रहोबरमा बयान लिने क्रममा अभियुक्तले बलात्कारपछि हत्या गरेको अभियोग स्विकारेपछि भागरथीका परिवारले शव बुझ्ने भएका हुन् । 

मृतक भागरथीका दाजु केशव भट्टले १४ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कार गरिने बताउँदै उनले अभियुक्त आफ्नै परिवारको सदस्य भए पनि प्रहरीले कानुनको कठघरामा उभ्याएपछि न्याय पाएको अनुभूति भएको बताएका छन् ।

बिहीबार मृतक र अभियुक्तका परिवारलाई रहोबरमा राखेर जिल्ला सरकारी विकलको कार्यालयमा बयान लिने क्रममा अभियोग स्वीकार गरेका थिए। यसअघि प्रहरीलाई आफूले बलात्कार नगरेको बताउँदै आएका दिनेशले बिहीबार भने भागरथीलाइ सडकबाट लडाएर बेहोस भएपछि एक पटक बलात्कार गरेको बयान दिँदै त्यसपछि घाँटी थिचेर हत्या गरेको बताएको उनकै परिवारका सदस्यले बताएका छन्। 

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्। उनको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने परिवारको अडानपछि २३ गतेदेखि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको थियो।