प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस सकियो

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस सकियो

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा जारी बहस आज सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा आज एमिकस क्युरीको बहस सकिएसँगै सो मुद्दामाथिको बहस सकिएको हो ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको अन्तिम बहस गर्दै आज एमिकस क्युरीमा चयन वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिनुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जवरा नेतृत्वको संवैधानिक इजलासले बहसमा सहभागी कानुन व्यवसायीहरूलाई सोमबारसम्म बहस नोट उपलब्ध समय तोकेको छ ।

इजलासले यो मुद्दालाई मङ्गलवारका लागि हेर्दाहेर्दैमा राखेको छ । संवैधानिक इजलासले मङ्गलवार वा त्यसपछि जुनसुकै बेला प्रतिनिधिसभा विघटनविरुद्धको सो मुद्दामा फैसला गर्न सक्नेछ ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा माघ ४ गतेदेखि सुनुवाइ सुरु भएको थियो । सुरुका १३ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गर्नुभएको थियो भने त्यसको जवाफमा प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी कानुन व्यवसायीहरूले ९ दिनसम्म बहस गर्नुभएको थियो ।

पक्ष र विपक्षका कानुन व्यवसायीको बहसपछि चार दिनसम्म एमिकस क्युरीमा चयन ५ जना वरिष्ठ अधिवक्ताले राय दिनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । सो विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

रिट निवेदकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग गर्नुभएको भने प्रधानमन्त्री पक्षले भने संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार भएकाले रिट निवेदन खारेज हुनुपर्ने बताउँदै आउनु भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।