गर्भपतनलाइ परिवार नियोजनको विकल्प बनाईदै

गर्भपतनलाइ परिवार नियोजनको विकल्प बनाईदै

धनगढी : सरकारले १२ हप्ता सम्मको गर्भपतनलाई कानूनी रुपमा मान्यता दिएपछि यस्तो सेवालाई परिवार नियोजनको साधनको विकल्पमा रुपमा प्रयोग गर्ने प्रचलन बढिरहेको छ ।  

सरकारले केही सर्त राखेर गर्भपतन गर्न पाइने बिषयलाई कानूनी मान्यता दिएपछि परिवार नियोजनका साधनहरु प्रयोग नगरी विकल्पमा गर्भपतनलाई रोज्न थालिएको छ । सेती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन सेवा लिन आउने महिलाहरुले श्रीमानका कारण परिवार नियोजनका साधन प्रयोग गर्न नसकिरहेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताए ।

सेती अञ्चल अस्पतालमा आर्थिक बर्ष २०७४÷०७५ मा एक हजार तीन सय ४५ महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिएका छन् । गर्भपतन सेवा लिने महिलाहरु अधिकांश ३० देखि ३५ बर्ष उमेर समुहका छन् । सन्तानको रहर पुगिसकेका र थप सन्तान जन्माउन नचाहने महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिने गरेका छन् । 

सरकारले निश्चित अवधिसम्मको गर्भपतनलाई कानूनी रुपमा बैध गरेको छ । गर्भमा रहेको बच्चाका कारण आमाको ज्यान जोखिममा पर्ने अवस्था, अपाङ्गगता भएको बच्चा जन्मिने अवस्थामा र अनइच्छित गर्भधारण भएमा १२ हप्ता सम्मको गर्भपतन गर्न किने कानूनी ब्यवस्था छ ।

यसबाहेक हाडनाता करणी र जबर्जस्ती करणीबाट रहन गएको गर्भ पनि १२ हप्ता सम्मको अवधिमा गर्भपतन गर्न पाइने कानूनी ब्यवस्था छ । बिशेष परिस्थितिमा मात्रै तालिमप्राप्त चिकित्सकको संलग्नतामा १६ वा १८ हप्ता सम्म अवधिको गर्भपतन समेत गरिन्छ । 

सेती अञ्चल अस्पतालको सुरक्षित गर्भपतन सेवामा १० बर्षदेखि कार्यरत सिनियर नर्स भगवती बडालको अनुभवमा मुखले नभने पनि गर्भपतन गर्न आउनेहरुको मनोबिज्ञान बुझ्दा गर्भधारण गर्ने इच्छा नहुँदा रहेको गर्भ गर्भपतन गर्न आउनेको संख्या धेरै छ ।

अस्पतालमा ६ देखि १० हप्ताको गर्भपतन गर्न आउनेको संख्या बढी छ । सुरक्षित गर्भपतन सेवाकी प्रमुख भगवती बडालका अनुसार दुर्गम क्षेत्रबाट आउने महिलाहरु १२ हप्ता सम्मको गर्भपतन गर्न आउने गरेका छन् । परिवार नियोजनका साधनको बारेमा जानकारी नपाएर गर्भ रहेनेको संख्या थोरै भएपनि थाहा पाएर पनि प्रयोग नगरेका कारण गर्भ रहेर गर्भपतन गर्न आउनेहरुको संख्या बढी रहेको उनले बताइन ।

गर्भपतनसंगै परिवार नियोजनका साधनको बारेका बताउन खोज्दा उनीहरुले श्रीमानले मान्नुहुन्न भन्ने गरेको बडालले जानकारी दिइन् । एक पटक श्रीमानलाई नसोधेरै इम्प्लान्ट राखेकी एक महिलाले श्रीमानले थाहा पाएपछि एक हप्तामै झिक्न आएको अनुभव सुनाउँदै उनले परिवार नियोजनका साधनको प्रयोग बारे पनि चेतना बढाउन आवश्यक रहेको बताइन् ।

गर्भपतनलाई परिवार नियोजनको विकल्पका रुपमा अपनाउँदा प्रजनन् स्वास्थ्यमा गम्भीर समस्या देखा पर्ने बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. गणेश बहादुर सिंहले बताए । उनले महिलाहरु त्यसैपनि तनावमा हुने भएकोले पुरुषको दवावका कारण गर्भपतनलाई परिवार नियोजनको विकल्पमा अपनाउँदा उनीहरुमा मानसिक समस्या पनि देखिने बताए।

शारीरिक रुपमा पनि रगत धेरै बग्ने, सेतो पानी बग्ने संगै पछि गर्भ नरहने सम्मका समस्या देखिने डा. सिंहले बताए । गर्भपतनलाई परिवार नियोजनको विकल्प नबउनाउन पुरुषहरुलाई नै चेतना दिनुपर्ने र महिलाको शरीरमा महिलाकै हक स्थापित गर्ने तर्फ पहल हुनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।