इच्छाधारी नागिन बन्दै श्रद्धा

इच्छाधारी नागिन बन्दै श्रद्धा

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर आगामी फिल्म ‘नागिन’ का कारण चर्चामा छिन् । उनले फिल्ममा नागिनको भूमिका निर्वाह गर्दै छिन् । यो फिल्मको सुटिङ छिट्टै सुरु हुँदैछ । श्रद्धाले भनिन्, ‘यो ठूलो बजेटको प्रोजेक्ट हुनेछ । म अहिले यसको सुटिङ गर्ने योजना बनाइरहेकी छु ।’

फिल्मको निर्देशन विशाल फुरियाले गर्दै छन् भने निखिल द्विवेदीले निर्माण गर्न लागेका हुन् । फिल्म तीन भागमा रिलिज गर्ने तयारी छ । गत वर्ष नै श्रद्धाले आफ्नो बहुप्रतीक्षित फिल्म ‘नागिन’ को घोषणा गरेकी थिइन् । एक अन्तर्वार्तामा श्रद्धाले ‘नागिन’ का बारेमा आएका प्रतिक्रियाका लागि फ्यानलाई धन्यवाद दिएकी छन् । फिल्मको घोषणा हुँदा नै राम्रो प्रतिक्रिया आएको उनले बताइन् ।

२०१९ अक्टोबरमा फिल्म घोषणा गर्दै श्रद्धाले ट्विटरमा लेखेकी थिइन्, ‘फिल्ममा नागिनको भूमिका निर्वाह गर्नु मेरा लागि खुसीको कुरा हो । म श्रीदेवीको नगिना र निगाहेंको ठूलो फ्यान हुँ । यही हेरेर हुर्केकी हुँ । म यस्तै भूमिका गर्न चाहन्थें जुन भारतीय लोककथासँग जोडिएको होस् ।’ फिल्ममा श्रद्धाको अपोजिटमा अभिनय गर्ने कलाकारको बारेमा भने केही बताइएको छैन । बलिउडमा यसअघि वैजयन्ती माला, रिना राय, रेखा र श्रीदेवीले आफ्ना फिल्ममा नागिनको भूमिका निर्वाह गरिसकेका छन् । श्रीदेवीले नागिनको रूपमा फिल्म नगिना र निगाहेंमा दर्शकलाई मनोरञ्जन गराएकी थिइन् ।