खलंगा बाहेक भारतसँग जोडिएका सीमापुल अझै खुलेनन्

खलंगा बाहेक भारतसँग जोडिएका सीमापुल अझै खुलेनन्

दार्चुला । कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द गरिएका दार्चुलाको नेपाल–भारत जोड्ने खलंगा नाका सहित चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ । गृह मन्त्रालयले माघ १५ गते जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको थियो । सोही सर्कुलर अनुसार दार्चुलाको नेपाल—भारत जोड्ने खलंगा झोलुङ्गे पुल अहिले नियमित संचालनमा आएको छ ।

तर भारतसँग सीमा जोडिएका अन्य पाँच ठाउँका झोलुङ्गे पुलमा भने ताल्चा नै लागेको छ । विगत १० महिनापछि सदरमुकामस्थितको एकमात्रै सीमा पुल खुलेपनि अन्य चार वटा सीमा पुल खुल्न नसक्दा सीमा क्षेत्रका नागरीकलाई समस्या भएको छ । जिल्लाको महाकाली नगरपालिका—९ दत्तुस्थित ‘दत्तु झोलुङ्गे पुल’ अहिलेसम्म बन्द हुदा त्यस क्षेत्रका नागरिक दैनिक उपभोग्य सामान लिन समेत खलंगा नाका पुग्ने गरेका छन् ।

लकडाउनका बेला एकदिन किरीयापुत्री ल्याउन मात्रै ढोका खोलिएको दत्तुका स्थानीय समाजसेवी लोक विक्रम सामन्तले जानकारी दिए । “पुल बन्द हुदा हामीलाई दैनिक उपभोग्य सामान लिन, रोजगारीमा जान तथा तरकारी बजारीकरण गर्न समस्या भएको छ” उनले भने । पुल खुलाउन माग गर्दै स्थानीयहरुका हस्ताक्षर सहित जिल्ला प्रशासनलाई निवेदनसमेत दिइसकेको उहाले बताए । ‘पारीपट्टी ढोका खुला गर्छन्, वारी ताल्चा नै छ’ उनले भने । यस्तै पिडा दार्चुलाको उत्तरी क्षेत्र ब्याँस गाउँपालिकाका स्थानीयहरुको पनि छ । उनीहरुको क्षेत्र तिग्रम झोलुङ्गे पुल विगतदेखि नै बन्द छ ।

सीमा पुल बन्द हुदा उनीहरुलाई यो समयमा सुन्तला बेच्न साह्रै नै समस्या भएको छ । ब्याँस गाउँपालिका—६ बसेडीमा उत्पादन हुने करिब १५ सय क्वीन्टल सुन्तला सीमा पुल बन्दका कारण बारीमै कँुहिदै छ । केहीले त नेपालको बाटो भएरै पनि जिल्ला सदरमुकाम पुगाएर व्यापार गर्ने गरेका छन् । सिजनअनुसार अन्य ठाउँको सुन्तला सकिन लागेपनि बसेडीका सुन्तला अझैपनि बजारमा आइरहेका छन् ।

पछिल्लो समय सदरमुकामको खलंगा नाका नियमित खुलेपछि उनीहरुले सुन्तला पारी लगेर बेच्न थालेका छन् । ‘तर हामीलाई जिल्ला सदरमुकाम आउजाउ गर्न सीमापुल बन्दले निक्कै नै समस्या दिएको छ, स्थानीय जंग बहादुर बमले भने । यस्तै लाली ड्योडा पुल पनि अझै नियमित खुल्न सकेको छैन् । केही समय छिटफुट रुपमा खोलिएपनि नियमित खोल्न सरकारले अझै अनुमति दिएको छैन् । भारत जोड्ने जौलजीवि झोलुङ्गे पुल पनि विगतदेखि नै बन्द छ ।

जौलजीविका स्थानीयहरुले सीमा पुल खुल्नुपर्ने भन्दै सोमवार प्रदर्शन समेत गरेका छन् । भारतले आफ्नोतिर ढोका खुला गरेपनि नेपाल तर्फ बन्द रहेको भन्दै हिरा चन्दको नेतृत्वमा आएका महिलाहरुले प्रदर्शन गरेका हुन् । सरकारले दार्चुलाको एकमात्र खलंगा झोलुङ्गे पुल नियमित खुलाएपनि अन्य पाँच वटा सीमा पुल नखोल्दा सास्ती भएको स्थानीयले बताएका छन् । उनीहरुले पूर्ववत् रुपमा सीमापुल खोल्नुपर्ने माग गरिरहेका छन् ।

खलंगा बाहेक बाँकी सीमा पुल खोल्नेबारे पनि गृह मन्त्रालयलाई पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जानकारी दिए । “अहिले यी सीमा पुल खोल्नेबारे कुनै सर्कुलर आएको छैन्, माथिबाट आउनेबित्तिकै समन्वय गरेर नियमित दार्चुलामा नेपाल—भारत जोड्ने छ वटा सीमापुल रहेका छन् ।

लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजीवि, महाकाली नगरपालिकाको दत्तु, खलंगा, ब्याँस गाउँपालिकाको तिग्रम र सीतापुल रहेपनि हाल खलंगा सीमापुल बाहेक अन्य सीमापुलहरु बन्द रहेका छन् । अहिले यी सीमापुलको पारीपट्टी ढोका खुला गरिने भएपनि नेपालतर्फ भने ताल्चा नै लाग्ने गरेको छ ।