जग्गा पाइने लोभमा कञ्चनपुरका वनमा धमाधम टहरा

वन अतिक्रमण गर्दै डेढ सातामा थपिए ३ सय टहरा

धनगढी खबर    

जग्गा पाइने लोभमा कञ्चनपुरका वनमा धमाधम टहरा

कञ्चनपुर । कञ्चनपुरको लालझाडी मोहना संरक्षित क्षेत्रअन्तर्गत भेटघाट शिविर र बयलकुन्डी क्षेत्र बाढीपीडितका नाममा वर्षौंदेखि अतिक्रमित छ । पछिल्लो समय भने उक्त क्षेत्रमा टहरा बनाउने क्रम झन् बढेको छ । जग्गा पाउने लोभमा वन अतिक्रमण गरेर धमाधम टहरा बनाउने क्रम बढेको हो ।

जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएपछि वन क्षेत्रमा धमाधम घरटहरा बन्न थालेका हुन् । ‘एकरडेढ हप्तायता वन अतिक्रमण गरेर धमाधम घर टहराहरू बनिरहेका छन्,’ सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले भने, ‘वनका कर्मचारी टहरा भत्काउने र अतिक्रमणकारीले भने रातारात टहरा बनाउने क्रम चलिरहेको छ ।’ डेढ सातायता विभिन्न क्षेत्रमा गरी तीन सय बढी छाप्राहरू थपिएका छन् ।

सबडिभिजन वन कार्यालय वाणीले मंगलबार बयलकुन्डी क्षेत्रमा एक दर्जन बढी टहराहरू भत्काएको छ । त्यसको अघिल्लो दिन भेटघाट शिविर, त्यस नजिकै कुमगडा, गौजेगडा र एक्लेगडामा ३५ भन्दा बढी टहरा भत्काएको सबडिभिजन वन कार्यालय वाणीका प्रमुख बालमुकुन्द भट्टले बताए । टहरा भत्काउँदा झडपकै अवस्था आउने गरेको उनले बताए । भेटघाट शिविरमा बसोबास गर्नेहरू ब्यानर बोकेर आन्दोलनमै निस्किने गरेका छन् ।

‘जग्गा पाउने आसमा धमाधम टहराहरू बनाइरहेका छन्,’ भट्टले भने, ‘हामी भत्काउँछौं, भोलिपल्ट फेरि बनाइहाल्छन् ।’ उनका अनुसार सोही क्षेत्रमा घरजग्गा भएकाले समेत वन क्षेत्रमा टहरा बनाएका छन् । टहरा बनाएर बालबालिका र महिलालाई बसाइएको उनले बताए ।

भेटघाट शिविरमा २०६५ देखि छाप्राहरू बनाएर बसोबास गर्न थालेका हुन् । बाढीपीडितका नाममा एक सय बढी छाप्राहरू बनाइएका छन् । पछिल्लो पटक नयाँ छाप्रा थपिने क्रम पनि बढेको छ । बयलकुन्डी क्षेत्र मछेली नदी किनारमा पर्छ । यहाँ राष्ट्रिय वन अतिक्रमण गरेर घरटहरा निर्माण भइरहेका हुन् ।

कञ्चनपुरकै पुनर्वास नगरपालिका–९ सीताबस्तीको जनजागरण सामुदायिक वनमा पनि टहरा निर्माणको काम भइरहेको छ । उक्त क्षेत्रमा पनि आधा दर्जन टहरा निर्माण भएको सबडिभिजन वन कार्यालय कुन्डाका सहायक वन अधिकृत दिनेश यादवले बताए ।

जिल्लाका सबै स्थानीय तहमा भूमिसम्बन्धी समस्या समाधान आयोगले लगत संकलनको काम सुरु गरेको छ । जो जहाँ बसेका छन् त्यही ठाउँमा जमिन दिने हल्ला फैलाइएका कारण घरजमिन भएकाहरू पनि धमाधम वन क्षेत्रमा टहरा निर्माण गरिरहेको सामुदायिक वन समन्वय समितिका अध्यक्ष पन्त बताउँछन् । उनका अनुसार सामुदायिक वनहरूले पनि अतिक्रमण रोकथामको पहल गरिरहेका छन् ।

पुरानो अतिक्रमित क्षेत्र भेटघाट र बयलकुन्डीमा अहिले धमाधम टहरा बनिरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले बताए । ‘पुरानो अतिक्रमणका कारण नयाँ अतिक्रमण हुन थालेको छ,’ उनले भने, ‘अब हामी पुरानो अतिक्रमण पनि हटाउने गरी योजना निर्माण गरिरहेका छौं ।’ उनले नयाँ अतिक्रमण हुन नदिन दिनहुँ घर टहराहरू भत्काउने काम भइरहेको बताए ।

कञ्चनपुरमा ८८ हजार २ सय हेक्टर वन क्षेत्र छ । डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकामा २ सय १, वेदकोटमा ६ सय ३३, शुक्लाफाँटामा ८ सय ७९, कृष्णपुरमा १ हजार ८६, लालझाडीमा ३ सय ८१, बेलौरीमा १२ हेक्टर गरी जिल्लाभरिमा ३ हजार १ सय ९२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।

भीमदत्त नगरपालिकाको खल्ला मुसेट्टी, शुक्लाफाँटाको पिल्लहरी फाँटा, वेदकोटको पोल्खरी र बगुन तथा कृष्णपुरका भेटघाट र बयलकुन्डी क्षेत्र वर्षौंदेखि अतिक्रमणमा परेका छन् । खल्ला मुसेट्टी, पिल्लरीफाँटा र पोल्खरी क्षेत्रमा बाक्लो बस्ती छ । पोल्खरीमा २०२२ देखि नै बसोबास भए पनि उक्त क्षेत्र वनमै राखिएको छ । कान्तिपुरबाट 



आइतबार १६, फागुन २०७७ ०१:०५ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस