भालेले लियाे मालिककाे ज्यान

भालेले लियाे मालिककाे ज्यान

भारतको तेलङ्गाना राज्यमा कुखुराको भालेको जुधाइ (खेल) का क्रममा एक जनाको ज्यान गएको छ । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा चक्कुबाँधिएको थियो । त्यो कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चाकुले उसकै मालिक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । 

यो घटनापछि प्रहरीले यस भाले जुधाइमा सहभागी १५ जनाको खोजी गरिरहेको छ । यो कार्यक्रम तेलङ्गानाको लोतुनुर गाउँमा यसै हप्ताको सुरुवातमा भएको थियो । ती मालिकको ज्यान गएपछि कुखुराको भालेलाई प्रहरी कार्यालय लगिएकाे र त्यहाँबाट एक फार्ममा पठाइएकाे बीबीसीमा उल्लेख छ ।  

प्रहरीका अनुसार 'खेल' का लागि कुखुराको भालेलाई तयार गरिँदै थियो र त्यही क्रममा उसले भाग्ने कोसिस गरेको थियो । भाग्न लागेको कुखुराको भालेलाई उसकै मालिकले समात्ने कोसिस गरे तर भाले र उसको मालिकका बीच भएको सङ्घर्षमा उसको पन्जामा बाँधिएको सात सेन्टिमिटर लामो चाकुले लाग्दा मालिक घाइते भएका थिए । 

'एएफपी न्युज एजेन्सी' को प्रतिवेदनअनुसार यस घटनामा सहभागी व्यक्तिमाथि हत्या, अवैध सट्टाबाजी र कुखुराको भाले जुधाइकाे आयाेजना गरेको आरोप लगाइएको छ । 'द न्यू इण्डियन एक्सप्रेस' का अनुसार स्थानीय प्रहरी अधिकारी बी जीवनले कुखुराको भालेलाई आउँदो तारिखमा अदालतमा पेस गरिनेछ । 

भारतमा कुखुराको भाले जुधाइमा सन् १९६० देखि प्रतिबन्ध लगाइएको थियो तर तेलङ्गानाको ग्रामीण क्षेत्रसमेत केही ठाउँमा यो जुधाइ अझै पनि गराइँदै आएको छ ।