उर्लाबारीमा एकीकृत सन्थाल बस्ती बनाइँदै, प्रधानमन्त्री ओलीले आज शिलान्यास गर्ने

उर्लाबारीमा एकीकृत सन्थाल बस्ती बनाइँदै, प्रधानमन्त्री ओलीले आज शिलान्यास गर्ने

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार मोरङको उर्लाबारी पुग्दै छन्। लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण हुने बस्तीको शिलान्यास गर्न ओली उर्लाबारी जाने भएका हुन्।

सन्थाल जातिका लागि ३० करोड रुपैयाँ खर्च गरेर उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती निर्माण गरिने भएको हो। बस्तीको प्रधानमन्त्री ओलीले बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको र त्यसको सबै तयारी पूरा भइसकेको उर्लाबारी–८ का वडा अध्यक्ष कूलबहादुर कार्कीले जानकारी दिए। 

उनका अनुसार दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी शहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रममार्फत बस्ती निर्माण गर्ने भएको हो। एक सय ३६ परिवारलाई लक्षित गरेर एकीकृत बस्ती निर्माण गरिने जानकारी कार्कीले दिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको बस्ती बनाउन मन्त्रालयले ‘मास्टर प्लान’ तयार गरेर अरु थप प्रक्रिया अघि बढाइसकेको छ। 

शिलान्यासपछि तत्काल द्रुत गतिमा काम अघि बढाउनलाई सबै तयारी पूरा भइसकेको उनको भनाइ छ। लोपोन्मुख एवं अल्पसङ्ख्यक आदिवासी जनजाति समुदायमा पर्ने सन्थाल जातिमा गरिएको सर्वेक्षण अनुसार २७ परिवारको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आर्थिक अवस्था कमजोर भएकाले घर बनाउन नसक्ने उनीहरुको स्थिति रहेको छ। जग्गा भए पनि घर बनाउन नसक्ने र जग्गा जमिन नै नभएर सुकुम्बासी जीवन बिताउनुपर्ने अवस्थाका सन्थाल जातिलाई एकीकृत बस्तीले ठूलो राहत पुर्‍याउने जानकारी कार्कीले दिए। 

उनका अनुसार निर्माणस्थल रातोहोलीको उत्तर-दक्षिण फैलिएको सात सय ८० मिटर लम्बाईभित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास हुने छ। केही जमिन खोल्सीको बहावका लागि पनि छुट्याइएको उनले बताए। एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामाग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालयसहित संरचना निर्माण हुने वडा अध्यक्ष कार्कीको भनाइ छ। समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतको निर्माण गर्ने गरी ‘मास्टर प्लान’ बनेको छ। 

स्थानीय सन्थाल अगुवा बुद्धिलाल सोरेनले सुकुम्बासी र गरिब अवस्थाका सन्थाल जातिलाई स्थायी रुपमा बासस्थानको व्यवस्था हुनु एकदमै सुखद् विषय रहेको बताए। ‘यहाँका सन्थालसँग बस्ने घरजग्गा छैन। सबैले सुकुम्बासी जीवन बिताउनु परिरहेको छ,’ उनले भने, ‘अब सरकारले सबैलाई बस्ने घरसहितको एकीकृत बस्ती बनाइदिने भयो। यसलाई सरकारले गरिबका लागि गरेको ठूलो सहयोगका रुपमा लिइएको छ।’

सोरेनले उचित बासस्थान नहुँदा बक्राहा खोलाको डिलमा बस्नुपर्ने बाध्यता रहेको पनि सुनाए। ‘बक्राहाको डिलमा जाडो, गर्मी र बाढीको पीडा सहँदै बस्नुपर्ने हाम्रो बाध्यता थियो,’ उनी भन्छन्, ‘बाढीले बगाउने डरले बर्खाका समयमा सुत्न पनि पाइँदैन थियो।’बसेको ठाउँ बाढीले बगाइदिँदा विभिन्न ठाउँमा विस्थापित भएर जीवननिर्वाह गर्नुपर्ने अवस्था एकीकृत बस्ती बनेपछि अन्त्य हुने उनको आशा छ। 

‘सरकारले दिएको जग्गा र बनाइदिएको घरमा बस्न पाउँछौं भन्ने आशाले सबै हर्षित छौँ,’ सोरेनले भने, ‘बस्ने ठाउँको ठेगान नहुँदा अहिलेसम्म जीवनयापन एकदमै असहज थियो।’गरिबको पीडा बुझेर सरकारले चालेको कदम र पुर्‍याएको सहयोगलाई सबैले सम्मान गर्ने उनको भनाइ छ। अब स्कुल र स्वास्थ्य चौकी पनि गाउँमै बन्ने भएपछि बालबालिकाले पढ्न र बिरामी हुँदा स्वास्थ्य उपचार गर्न अन्यत्र जानुपर्ने बाध्यता पनि हट्ने भन्दै सन्थाल जाति खुशी भएको जानकारी सोरेनले दिए। अन्नपुर्ण पोष्टबाट