एक वर्षमा १० प्रतिशत बढ्यो इन्टरनेट पहुँच

एक वर्षमा १० प्रतिशत बढ्यो इन्टरनेट पहुँच

काठमाडौँ  । पछिल्लो एक वर्षमा इन्टरनेट पहुँच १० प्रतिशत बढेको छ । इन्टरनेट पहुँच प्राप्त जनसंख्या करिब ८३ प्रतिशत पुगेको नेपाल दूरसञ्चार प्राधिकरण छ ।

प्राधिकरणले सार्वजनिक गरेको पुससम्मको तथ्यांकअनुसार इन्टरनेट प्रयोग गर्ने जनसंख्या २ करोड ४७ लाख ३५ हजार नाघेको छ । गत वर्षको पुससम्म इन्टरनेटमा पहुँच हुने जनसंख्या करिब २ करोड १२ लाख थियो ।

गत वर्ष पुससम्म इन्टरनेटमा पहुँच हुने जनसंख्याको ७२ दशमलव १६ प्रतिशत मात्रै थियो । यो वर्ष बढेर ८२ दशमलव ७९ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांक छ । पछिल्लो दुई वर्षमा इन्टरनेटमा पहुँच हुने नागरिकको प्रतिशत पनि उल्लेख्य बढेको प्राधिकरणको तथ्यांक छ । २०७५ पुससम्ममा इन्टरनेटमा पहुँच हुनेको प्रतिशत कुल जनसंख्याको ५६ दशमलव ७१ प्रतिशत थियो । दुई वर्षमा इन्टरनेटमा पहुँच २६ प्रतिशत बढेको प्राधिकरणको तथ्यांक छ । इन्टरनेटमा पहुँच भएकामध्ये ७३ प्रतिशतले मोबाइल इन्टरनेट र २६ प्रतिशतले तारसहितको इन्टरनेटमा पहुँच पाएका छन् । सबैभन्दा बढी इन्टरनेट ग्राहक नेपाल टेलिकमका छन् । टेलिकमका कुल इन्टरनेट प्रयोगकर्ता १ करोड २५ लाख १५ हजारभन्दा बढी रहेको प्राधिकरणको तथ्यांक छ ।

एनसेलको थ्रीजी र फोरजीतर्फका ग्राहक भने ६६ लाख ५२ हजारभन्दा बढी छन् । फोरजी सेवा प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको प्राधिकरणको तथ्यांकले देखाउँछ । फोरजी सेवाका प्रयोगकर्ता पुससम्ममा करिब ६६ लाख ९० हजार पुगेका छन् । गत वर्ष फोरजी सेवा प्रयोगकर्ताको संख्या ४५ लाख मात्रै थियो । देशभर फोरजी विस्तार गरिरहेको नेपाल टेलिकमका फोरजी ग्राहक मात्रै २३ लाख ८३ हजार छन् । पछिल्लो एक वर्षमा टेलिकमका फोरजी ग्राहक तीन गुणाले बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

गत वर्ष पुस मसान्तसम्ममा टेलिकमका फोरजी ग्राहकको संख्या ८ लाख ४१ हजार मात्रै थियो । एनसेलको फोरजी ग्राहक ३४ लाख २७ हजारबाट बढेर यो वर्ष पुसममा ४० लाख ८६ हजार नाघेको छ । अर्को दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमका फोरजी ग्राहक २ लाख १९ हजार छन् ।

इन्टरनेट सेवा प्रदायकका ग्राहक संख्या पनि बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ । देशभरका इन्टरनेट सेवा प्रदायकका कुल ग्राहक १० लाख १९ हजारबाट बढेर यो वर्षको पुस मसान्तसम्म १३ लाख ७४ हजार नाघेको प्राधिकरणले जनाएको छ । इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा बढी ग्राहक वर्ल्डलिंक कम्युनिकेसनका छन् । उसको ग्राहक संख्या ४ लाख ४१ हजारभन्दा बढी रहेको प्राधिकरणले जनाएको छ । नेपाल टेलिकमको फाइबर टू दी होम (एफटीटीएच) इन्टरनेटका ग्राहक पनि पछिल्लो वर्षमा उल्लेख्य बढेका छन् । टेलिकमको फाइबर इन्टरनेटका ग्राहक संख्या पुससम्ममा २ लाख ७८ हजार नाघेका छन् । -कान्तिपुर