धनगढीः धनगढीको सेती प्रादेशिक अस्पताल अगाडि रहेको नेशनल प्याथ ल्यावमा तोडफोड गरिएको छ। सोमबार राति तोडफोड भएको प्रहरीले जनाएको छ।
ल्यावका साझेदारहरुबीच आपसी विवाद हुँदा सोमबार राति तोडफोड भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताउनुभयो। नेशनल प्याथ ल्यावका व्यवस्थापक हरी धामीले धनगढीकै स्वस्तिक ल्यावका सञ्चालक महेश जोशीले गएराति ल्यावमै प्रवेश गरेर तोडफोड गरेको बताए। धामीले मदिरा सेवन गरेर प्रवेश गरेका जोशीले जथाभावी सामान तोडफोड गरेपछि झण्डै ७ लाख बराबरको क्षति भएको बताए।
जोशीले पनि आफूले ल्यावमा तोडफोड गरेको कुरा साँचो भएको बताए। तर उनले मदिरा सेवन गरेको आरोप गलत भएको बताएका छन्। उनले आफू पनि नेशनल प्याव ल्याबको शेयर सदस्य भएपनि अहिलेसम्म प्रमाण पत्र समेत नदिएका कारण आपसी विवादकै क्रममा आक्रोशित भएर तोडफोड गरिएको बताए। जोशीले आफू स्वस्तिक ल्याबको सञ्चालक नरहेको समेत बताएका छन्।
आफूले शेयर प्रमाण पत्र, संस्थाको हिसाबकिताब माग्दा व्यवस्थापक धामी र अध्यक्ष रुद्र कार्की एक अर्कालाई देखाएर पन्छिने गरेका बताए। प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।