'रुखलाई हामी अक्सिजन दिन्छौं, रुखबाट कार्वनडाईअक्साईड पाउँछौ'_वनमन्त्री आले

'रुखलाई हामी अक्सिजन दिन्छौं, रुखबाट कार्वनडाईअक्साईड पाउँछौ'_वनमन्त्री आले

वनमन्त्री प्रेम आलेको सामाजिक सञ्जालमा कडा आलोचना हुन थालेको छ । उनले दिएको अभिव्यक्तिको कडा आलोचना हुन थालेको हो । आलेले ‘यो सरकार जनताप्रति उत्तरदायी भएको लाग्छ भने त्यो तपाईको ठूलो भुल हो’ भनेपछि आलोचना हुन थालेको हो ।

मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले भनेका थिए, ‘यो सरकार जनताको सरकार हो । यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने कसैलाई लाग्छ भने त्यो तपाईको ठूलो भुल हो ।’

उनले अगाडि भने, ‘जुन रुखबाट हामी कार्वनडाईअक्साईड पाउँछौ । जुन रुखलाई हामी अक्सिजन दिनै । त्यहि रुख रहेन भने के हुन्छ हालत ।’ मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही बद्मास कर्मचारीले भेट्न प्रयास गरेको तर कसैलाई नभेटेर बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको दाबी गरे ।

‘जुन दिन पद वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायी, वनका केही बदमास कर्मचारीले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिन । हामी १ अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो । तर मैले मुखमा कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ’ उनले भने ।