नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह

नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूह फेरि निर्वाचन आयोग जाने भएको छ। नेकपा विवादबारे कुनै निर्णय नगरिएपछि यो समूह आयोग जान लागेको हो। यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र लिएर यो समूह आयोग जान लागेको हो।

यो समूहले गत २० माघमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दावी पेश गरे पनि निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन । आइतबार दिउँसो प्रतिनिधिसभा बस्दैछ । तर, निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा टुंगो नलगाएपछि आफ्नो पार्टी आधिकारिक पार्टी भएको र तत्काल निर्णय गर्न दबाब दिनका लागि प्रचण्ड- नेपाल समूह आयोग जान लागेको हो।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमामा विभाजित भएको छ । एक समूहको नेतृत्व प्रधानमन्त्री ओलीले लिएका छन् भने अर्को समूहको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गरेका छन्। तर, आयोगले भने ५ पुसभन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको छ।