विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार चन्द समूहसँग भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरिएको थियो ।

यो सहमतिलाई बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले जानकारी दिए । शुक्रबार सहमति घोषणा गर्ने विशेष कार्यक्रममा चन्द सार्वजनिक हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्ने तयारी छ ।

हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गरेको थियो ।